गंगबु बसपार्कबाट बढि भाडा असुल्ने ३ जना पक्राउ


काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने तिन जनालाई गंगबु बसपार्क आसपासबाट पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढि भाडा लिएको कसुरमा तिनजनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनले पोखरा जाने यात्रुसँग रु३५०० र बुटवल जाने यात्रुबाट जनही रु६००० का दरले भाडा लिन क्रममा पक्राउ गरिएको बताए ।

उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरुबाट बढि भाडा असुलेको हो ।पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखरा ३३ घर भइ काठमाण्डौं बस्ने बर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई ९(मोरङ्ग घर भई नेपालटार बस्ने बर्ष २९ को नबीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ् थाक्रे ७ का बर्ष २९ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले यस्तो बिषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागी सादा पोशाकमा बिशेष टोली परिचालन गरेको छ । टोलीले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढिभाडा लिन खोज्नेलाई निग्रानीमा राखि नियन्त्रण गर्ने गरेको छ । यात्रुसँग बढि भाडा लिने बाग्लुङ्ग भगवती काउण्टरका कर्मचारी बर्ष ३० को मिलन सारुलाई महाशाखाले हिजो पक्राउ गरेको थियो । पक्राउ परेका तिनै जनालाई आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।

बढि भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।