मकवानपुरमा दिनहुँ कोरोना संक्रमितको मृत्युदर बढ्दै

निषेध उल्लंघन गर्दै वित्तीय समूह


रोशन पराजुली, हेटौंडा  । 

हेटौंडा अस्पतालमा बुधबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–५ बस्ने ६८ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको कोरोना पुष्टि भएर अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो ।यससँगै हेटौंडा अस्पतालमा संक्रमित ६ जनाको मृत्यु भएको छ । यसअघि हेटौंडाका ५५ वर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ वर्षीय पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० वर्षीया महिला, हेटौंडा–६ की ४१ वर्षीया महिला र बारा अमलेखगञ्जकै ५९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हेटौंडा अस्पताल कोभिड इन्चार्ज डा. सागर काफ्लेले बताउनुभयो ।

पछिल्लो समय कोरोनाको जोखिम बढेको भन्दै थाहानगरमा सञ्चालित लघुवित्तहरुको समूह बैठक अर्को सूचना नभएसम्म रोक्ने नगरको निर्णय उल्लंघन गर्दै कतिपय वित्तीय संस्थाले जारी राखेका छन् ।शनिबार थाहा नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकले कोरोनाको जोखिम न्यूनीकरणका लागि तत्काल महिला समूहका बैठकहरु स्थगन गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै त्यस्तो निर्णय गरेको थियो । तर, कतिपय वित्तीय संस्थाले आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै दैनिकरूपमा विभिन्न क्षेत्रमा बैठक जारी राखेको बुझिएको छ ।

‘थेग्नै नसक्ने’ अवस्था

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडामा कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको कोभिड वार्ड भरिएको छ । संक्रमितको संख्या अप्रत्याशितरूपमा बढेसँगै हेटौंडा अस्पतालमा सञ्चालनमा ल्याइएको भेन्टिलेटरसहित ६ बेडको आईसीयँ र २४ बेडको एचडीयँ वार्ड भरिएको हो ।‘जिल्लाबाहिरका समेत संक्रमित हेटौंडा आइरहेका छन् ’, अस्पतालका कोभिड इन्चार्ज डा. काफ्ले भन्नुहुन्छ– ‘तराईमा संक्रमित बढिरहेको र छिमेकी चितवनका अस्पतालबाट रिफर गरिएका संक्रमित उपचारका लागि यहाँ आइरहेकाले अस्पतालले थेग्नै नसक्ने अवस्था आएको हो ।’ थेग्नै नसक्ने अवस्था भएकाले जटिल अवस्थाका संक्रमितलाई मात्र भर्ना गर्ने र सामान्य लक्षण भएकालाई परामर्श दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।

संक्रमण र मृत्युदर बढ्दै गएपछि चिन्तित स्थानीय प्रशासनले कोभिड अस्पतालका रूपमा एक निजी अस्पताललाई प्रयोग गर्ने निर्णयसमेत गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौंडा उपमहानगरपालिका–११ स्थित चुरेहिल अस्पतालमा आईसीयँ सेवासहित २५ बेडको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । हेटौंंडा अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन तत्काल हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी नियुक्त गरी काजमा खटाउन निर्देशन दिने निर्णय भएको छ । निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएका सवारी पासबाहेक अन्य पासलाई मान्यता नदिने निर्णय गरिएको छ भने सोहीअनुसार गर्न-गराउन जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयलाई निर्देशन जारी गरिएको छ ।

पसल ८ बजेसम्म

मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल ८ बजेसम्म मात्र खुल्न दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरी अत्यावश्यक उपभोग्य वस्तुका पसल ८ बजेसम्म मात्र खुल्ने जनाएको हो । सूचनामा खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा तरकारी बिक्री–वितरण गर्ने पसल विहान ५ देखि ८ बजेसम्म खुला रहने जनाइएको छ । यसअघि यी पसल विहान ९ बजेसम्म खुल्ने गरेका थिए ।

अक्सिजन बैंक

हेटौंडामा जटिल श्वास–प्रश्वाससम्बन्धी समस्या हुने कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बैंक स्थापना गरिएको छ । मकवानपुरमा क्रियाशील लायन्स क्लबको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालयपरिसरमा स्थापना गरिएको अक्सिजन बैंकमा ३० सिलिन्डर अक्सिजन तयारी अवस्थामा राखिएको छ ।कोरोना संक्रमित भएर अक्सिजनको व्यवस्थापन गर्न नसक्नेलाई सहयोग गर्ने उद्देश्यले अक्सिजन बैंक स्थापना गरिएको हो । लायन्स क्लबका पदाधिकारी तथा सदस्यको आर्थिक सहयोगमा १० किलो तौलका ३० सिलिन्डर अक्सिजन तयार पारिएको अक्सिजन बैंक व्यवस्थापन उपसमिति संयोजक राजेश वाग्लेले जानकारी दिनुभयो ।