सभासद् खड्काको निधन


भक्तपुर, (नेस)

नेपाली कांग्रेसका नेता एवं संविधानसभाका सदस्य शिवबहादुर खड्काको निधन भएको छ । आइतबार बिहान आफ्नै निवास भक्तपुरमा लडेर बेहोस भएर नागरिक अस्पतालमा भर्ना गरिएका नेता खड्काको उपचारको क्रममा निधन भएको हो ।

जिल्ला विकास समिति रामेछापका पूर्वसभापतिसमेत रहेका नेता खड्काले भद्रअवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।७८ वर्षीय खड्का २०७० सालमा बौद्धिक क्षेत्रबाट संविधानसभा सदस्यमा मनोनित हुनुभएको थियो । संविधान लेखन कार्यमा पनि उहाँको उल्लेखनीय योगदान रहेको थियो ।

रामेछाप सुनापति गाउँपालिका–४ बेथान निवासी खड्का नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, नेपाली कांग्रेस रामेछापका जिल्ला सभापतिलगायत जिल्ला विकास समितिका सभापतिसमेत हुनुभएको थियो ।शान्त र सरल व्यक्तित्वका धनी नेता खड्काको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो । पार्टीले एक कुशल संगठनकर्ता, इमान्दार एवं निष्ठावान नेता गुमाएको भन्दै उहाँले विज्ञप्ति जारी गर्नुभएको छ ।