कोरोना अस्पतालमै आत्महत्या


बुटवल, (नेस)

रूपन्देहीमा कोरोना अस्थायी अस्पतालमै एक कोरोना संक्रमितले आत्महत्या गरेका छन । रूपन्देहीको सैनामैना नगरपालिकाले वनकट्टामा सञ्चालन भर्खर सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा डिस्चार्जको तयारीमा रहेका ४० वर्षीय पुरुषले आत्महत्या गरेका हुन् ।
सैनामैना रानीबगियाका ४० वर्षीय ती पुरुषले शौचालयमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । ती पुरुषले शौचालयमा पासो लगाएको अवस्थामा शव फेला परेको थियो ।

मृतक १६ गतेदेखि सो कोरोना अस्थायी अस्पतालमा भर्ना भएको सैनामैना नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख हेमराज पन्थीले बताउनुभयो । शुक्रबार दिनभरि अस्पतालले सञ्चालन गरेको योग शिविर, प्रवचनमा सक्रियरूपमा सहभागी भएका ती व्यक्तिले आत्महत्या गर्दा आश्चर्यमा परेको उहाँले बताउनुभयो ।

अस्पतालमा १३ जना कोरोना संक्रमित छन् । केही दिनअघि बुटवल र भैरहवामा रहेका अस्पतालमा कोरोना संक्रमितले बेड नपाएको व्यापक गुनासो आएपछि सैनामैनाले कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएको थियो । शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको छ ।