डडेल्धुरा अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार गर्न नसक्ने


राम धामी, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्रै अस्पताल डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसकिने जनाएको छ ।

अस्पतालले एक सूचना जारीगर्दै क्षमताभन्दा बढी आइसीयू र एचडीयूमा कोरोना संक्रमित बिमारीहरू भर्ना गरिसकेको र थप बिरामी भर्ना गरेर उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो । ‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं, हामीले यस्तो दिनसँग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं, तत्काल थप बिरामीहरूलाई भर्ना गर्न नसक्ने वास्तविकतामा पुगेका छौं,’ सूचनामा भनिएको छ । अस्पतालमा भएका कोरोना संक्रमित बिरामी निको हुनेबित्तिकै नयाँ केस भर्ना गर्ने अस्पतालले जनाएको छ ।‘हाललाई अस्पताल सेवा पहिले नै संतृप्त भइसकेको कुरा सार्वजनिक गर्दछौं,’ सूचनामा लेखिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले अक्सिनजले धान्न नसकेर बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । ‘अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमित बिरामीलाई रेफर गर्नेछौं । बेडमात्र भएर के गर्ने अक्सिजन अभाव भइसक्यो,’ उहाँले भन्नुभयो ।

डडेल्धुरा अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ । डडेल्धुरा अस्पतालमा उत्पादित अक्सिजन दैनिक ११ जना बिरामीलाई मात्रै उपलब्ध गराउन सक्ने क्षमता रहेको मेसु विष्टले जानकारी दिनुभयो । ‘डडेल्धुरा अस्पतालको अक्सिजन प्लान्टबाट दैनिक २७ सिलिन्डर अक्सिजन भर्ने क्षमता हो, जसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ । तर, अहिले १६ जनालाई अक्सिजन दिएका छौं’ –उहाँले भन्नुभयो । केही दिन पहिले डडेल्धुरामा अक्सिजनको अभाव नहुँदा सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्दनगरबाट समेत गम्भीर अवस्थाका कोरोना संक्रमित बिरामीहरूलाई डडेल्धुरा रिफर गर्ने गरिएको थियो ।

अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पु-याउने व्यवस्था गरेको छ । डडेल्धुरा अस्पतालमा हाल १६ जना कोभिड सक्रमित बिरामी उपचाररत छन् । तीमध्ये तीन जना भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ । डडेल्धुरा अस्पतालमा आइसीयू बेड आठ र एचडीयूसमेत गरेर २१ बेड कोरोना संक्रमित बिरामीका लागि छुट्टयाइएको छ । सबै बेडमा कोरोना संक्रमित बिरामी भर्ना भइसकेकाले थप बिरामीको उपचार गर्न नसकिने भएको हो । अक्सिजनको अभावमा डडेल्धुरा अस्पतालमा गम्भीर किसिमका लक्षण देखिएका कोरोना संक्रमित बिरामीहरूको अकाल मृत्यु हुन थालेको छ ।