श्रम सम्बन्ध भरपर्दाे बनाउन गोल्छाको आग्रह


काठमाडाै (नेस) ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढिरहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ ।

अध्यक्ष गोल्छाले १३२ औं अन्र्तराष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिनुभयो ।विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीकोरूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताउनुभयो ।

यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रित हुनु पर्नेमा जोड दिनुहुँदै अध्यक्ष गोल्छाले भन्नुभयो– ‘विश्वभरि नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाँडै नियन्त्रणमा आउने सम्भावना छैन, यस्तो स्थितिमा जिउ–ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाइराख्नुपर्ने चुनौती र बाध्यता हामी सबैले महसुस गरेका छांै । संक्रमण नियन्त्रणका लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउनजस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय सञ्चालनमा संकुचन आउने र यसबाट रोजगारीसमेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।

त्यसैगरी, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र सांघाईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्राअगाडि आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवी वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नुपर्नेमा जोड दिनुहुँदै रोजगारदाता परिषद्का सभापति सांघाईले बाँच र बचाउको यो कठिन अवस्थाबाट चाँडै मुक्त हुने अपेक्षा गर्दै सबै श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्नुभयो ।