पानीका लागि दैनिक ८–१० घण्टा खेर

काकाकुल उपमहानगर


नरेन्द्र केसी, घोराही

दाङको घोराही उपमहानगरपालिका सापेक्षिकरूपमा देशकै सुगम मानिन्छ तर यही पालिकाभित्रका केही वडाको कथाव्यथा निकै दर्दनाक छ । त्यसैमध्येको एक हो वडा नम्बर १८ मा रहेको पहाडी गाउँ घोरदौरा ।

घोराही बजारबाट झन्डै ६ किलोमिटर पूर्व–उत्तरमा लगभग ८५ घर–परिवार रहेको घोरदौरा गाउँ छ । अधिकांश मगर र दलित तथा केही अन्य जातिको बसोबास रहेको यो गाउँ हेर्दा निकै सुन्दर छ । बिदाको दिन घोराही बजारबाट यहाँ पुगेर आनन्द लिने र दाङको दृश्यावलोकन गर्नेहरूको संख्या बढिरहेको छ । त्यसमाथि कोरोना संकटसँगै शारीरिक तन्दुरुस्तीका लागि बजारका बासिन्दाहरू बिहान र साँझ पैदल यात्रा गर्दै यो गाउँ पुगेर फर्कन्छन् ।सुगम क्षेत्रका बासिन्दाका लागि मनोरञ्जनको केन्द्र बनेको घोरदौराका रैथाने भने पीडामा छन् । यहाँको सबैभन्दा ठूलो समस्या खानेपानीकै हो ।बहादुर पुन प्युठानबाट झरेर यो गाउँमा बस्न थालेको २७ वर्ष भयो । २०५० सालदेखि यो गाउँमा बस्दै आएका पुन भन्नुहुन्छ– ‘हरेक वर्षको खडेरीमा हामी यसरी नै दैनिक तीन घण्टा लगाएर एक गाग्री पानी बोक्छौं ।’

यहाँका बासिन्दालाई पानी लिन झन्डै एक घण्टा ओरालो झरेर कमिरे भन्ने ठाउँमा जानुपर्छ, त्यहाँ पनि केहीबेर लाइन बसेपछि मात्रै पालो आउँछ र पानीको गाग्रीसहित फर्कदा अर्को दुई घण्टा लाग्छ । हरेक दिन कम्तीमा तीन गाग्री पानी लाग्ने भएकाले आठ–दश घण्टा पानी बोक्नमै खर्चिनुपर्ने बाध्यता रहेको स्थानीय सपना विश्वकर्माको भनाइ छ । हावापानी सबै हिसाबले घोरदौरा राम्रो भए पनि उत्पादन र पानीको हिसाबले निकै पछाडि परेको उहाँको भनाइ छ ।गाउँमा एउटा सानो प्राथमिक विद्यालय भएकाले यहाँका बालबालिका ठूलो कक्षा पढ्न दैनिक १२ किलोमिटर हिँडेर घोराहीको मावि रझेना जाने गरेका छन् । बालबालिकाहरू खाना खाएर विद्यालय जानुअघि बिहानै उठेर एक गाग्री पानी भर्न जान्छन् । स्थानीय अगुवा दीपक विक भन्नुहुन्छ– ‘अरूले अरु ठाउँमा काम गरेर धेरै प्रगति गरिसक्दा हामीले दैनिक आठ–दश घण्टा खानेपानीकै लागि खर्च गर्नुपर्छ, अनि कसरी हुन्छ हाम्रो प्रगति ?’

लामो समयदेखि खानेपानीको अभाव बेहोर्दै आएको घोरदौरामा यो वर्ष लिफ्टबाट खानेपानी पु¥याउने प्रयास शुरू गरिएको छ । झन्डै दुई किलोमिटर तल रहेको मुहानमा ट्यांकी बनाइएको र लिफ्टबाट पानी पु-याउने तयारी भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोख्रेलले जानकारी दिनुभयो । यो योजना सफल भयो भने घोरदौराबासीका लागि ठूलो राहत हुनेछ ।