सरकार नागरिकप्रति गैरजिम्मेवार: कांग्रेस


काठमाडौं, (नेस)

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाम गर्ने कार्यमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ । कांग्रेसले कोरोना संक्रमित बिरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन र लज्जास्पद भएको बताएको हो ।

संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा उल्टै जिम्मेवारी र कर्तव्यबाट सरकार पछि हट्दै गैरजिम्मेवाररूपमा प्रस्तुत भएको कांग्रेसले आरोप लगाएको छ । एक साताको अवधिमा काठमाडौं उपत्यकासहित देशभर फैलिएको कोरोना संक्रमणको कारण अस्पतालका सबै बेड भरिएपछि सरकारले अस्पतालमा राख्ने बेड नभएको बताएको थियो ।उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि भएको बताउनुभएको छ ।

अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै उहाँले भन्नुभएको छ– ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’‘वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद् विघटन गरेर मध्यमहामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’ –प्रवक्ता शर्माले प्रश्न गर्नुभयो । संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुने बताउँदै उहाँले बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा नहुने बताउनुभयो ।