जिल्ला अस्पतालमै छैनन् स्वास्थ्यकर्मी


किरण धामी, दार्चुला

कोरोनाको महामारीका बेला जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्यकर्मीको अभाव रहेको पाइएको छ । स्वीकृत दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा अस्पतालको अवस्था दयनीय बनेको छ । अस्पतालको आकस्मिक कक्षमा एक जना पनि स्वास्थ्यकर्मी छैनन् ।

अकस्मिक कक्ष हेर्ने २ जना अहेबको स्वीकृत दरबन्दी रहेको भए पनि पूरै रिक्त रहेको अस्पताल प्रशासन प्रमुख आनसिंह डागाले बताउनुभयो । जिल्ला अस्पताल दार्चुलामा १२ जना स्वास्थ्यकर्मीको स्वीकृत दरबन्दी रहेको भए पनि दरबन्दी अनुसारका स्वास्थ्यकर्मी छैनन् । १५ शैय्याको उक्त अस्पतालमा एमडीजीपी डाक्टर १ जना, मेडिकल अधिकृत १ जना, स्टाफ नर्स ३ जना, हेल्थ असिष्टेन्ट १ जना, अहेब २ जना, अनमी २ जना, रेडियो ग्राफर १ जना र १ जना ल्याब असिस्टेन्टको स्वीकृत दरबन्दी रहेको प्रमुख डागा बताउनुहुन्छ ।
अस्पतालमा हाल स्वास्थ्य सेवा विभागले करारमा छात्रवृत्ति कोटाका २ जना मेडिकल अधिकृत पठाएको छ ।

यस्तै, सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले १ र निकसाइमन परियोजनाले १ जना डाक्टर पठाएको प्रशासन प्रमुख डागाले बताउनुभयो ।स्वीकृत दरबन्दीमा हाल स्टाफ नर्स, अनमी र ल्याब असिस्टेन्ट फुलफिल छन् भने अहेब, हेल्थ असिस्टेन्टको दरबन्दी रिक्त छ । १ जना रेडियो ग्राफरको दरबन्दीमा करारमा भर्ना गरिएको अवस्था रहेको उहाँको भनाइ छ । बिगतमा १५ शैय्यामा सञ्चालन भएको जिल्ला अस्पताल अहिले ४५ शैय्यासहित सञ्चालनमा छ । अस्पतालमा शैय्या थपिए पनि दरबन्दी नथपिएकाले काम गर्न अप्ठेरो भएको प्रशासन प्रमुख डागा बताउनुहुन्छ ।

४५ शैय्याको अस्पतालका लागि ८ जना मेडिकल अधिकृत डाक्टर, १६ जना स्टाफ नर्स र थप अन्य पदका स्वास्थ्यकर्मीको आवश्यकता रहेको उहाँले बताउनुभयो । थप दरबन्दी र आवश्यक स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभाग र सामाजिक विकास मन्त्रालयमा पत्राचार गरे पनि सम्बोधन हुन सकेको छैन ।