बाँकेमा पर्याप्त बजेट विनियोजन गर्न माग


काठमाडौं, (नेस)
नेपालको सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको बाँके जिल्लामा पर्याप्त बजेट विनियोजन गर्नका लागि आदेश दिन माग गर्दै मंगलबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ताद्वय शैलेन्द्रप्रसाद अम्बेडकर (हरिजन) र मोहना अन्सारीद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा बाँके जिल्लामा पर्याप्त अक्सिजन र आईसीयूको व्यवस्था गर्नका लागि सरकारलाई आदेश दिन पनि भनिएको छ ।रिट निवेदनमा सो जिल्लामा थप सय जना नर्स र कम्तीमा २० जना चिकित्सक पठाउनका लागि अत्यावश्यक भइसकेको उल्लेख गर्दै त्यसतर्फ पनि आदेश दिन माग गरिएको छ ।

नेपालको संविधानको धारा १६ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने, धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक हुने भनी स्पष्टरूपमा उल्लेख गरिएको भए पनि सरकारले त्यसतर्फ खासै ध्यान दिन नसकेको रिट निवेदनमा जनाइएको छ ।