रूपन्देहीमा वैशाख १६ देखि निषेधाज्ञा


यमलाल भुसाल, बुटवल 

संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रूपन्देहीमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । रूपन्देही प्रशासनले वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो । दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रूपन्देही प्रशासनले निषेधाज्ञा लगाउन परेको जनाएको छ ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मंगलबार स्थानीय तहका प्रमुखहरु, व्यवसायी र सञ्चारकर्मीसँगको छलफलपछि निषेधाज्ञा लगाउने निर्णय गरिएको बताउनुभयो ।पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने गरी संघ सरकारले अधिकार दिएको छ । संघ सरकारले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउन भनेको छ ।काठमाडौंमा वैशाख १६ देखि निषेधाज्ञा लगाउने निर्णय भएकाले १६ गतेसम्म रूपन्देही आउने र अन्य जिल्लामा जानेका लागि प्रवेश दिएर निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ ।बेलहिया नाकामा आउनेमध्ये दैनिक ७–१० जनासम्ममा एन्टिजेन पोजेटिभ देखिएको छ । तीमध्ये अधिकांशलाई घरमा गएर क्वारेन्टिन बस्न, आइसोलेसन जान र सुरक्षित रहन सुझाव दिएर पठाइन्छ ।

केही होल्डिङ सेन्टरमै बस्ने भनेर भाग्ने गरेका छन् । सीमामा कडाइका साथ नियमन गर्न र सरकारले तोकेका सबै मापदण्डको पालना गर्न निर्देशन दिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । उहाँले सीमानाकाको चेकजाँचलाई अरु प्रभावकारी बनाउने बताउनुभयो ।रूपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ । सोमबार २ सय ६३ जना थपिएसँगै रूपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको हो । जसमध्ये सबैभन्दा धेरै बुटवलमा छन् । रूपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ ।
बक्स