क्वारेन्टिनमा बसेका छ भारतीयको मृत्यु


सरस्वती कर्माचार्य, काठमाडौं  ।

छिमेकी मुलुक भारतबाट तेस्रो राष्ट्रमा जान नेपाल आएका ६ जना भारतीयको क्वारेन्टिनमै मृत्यु भएको छ ।आइतबारदेखि मंगलबारसम्ममा क्वारेन्टिनमा बस्ने क्रममा बिरामी परेर राजधानीका विभिन्न अस्पतालमा भर्ना भएका ६ जना भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको समाचार स्रोतले बताएको छ ।

स्रोतका अनुसार अझै पनि साउदी अरब, सिंगापुरलगायतका तेस्रो मुलुक जाने प्रतीक्षामा रहेका ५ सयदेखि ६ सय भारतीय नागरिक यतिखेर काठमाडौंमा क्वारेन्टिनमा बसिरहेका छन् । उनीहरूमा कोरोना संक्रमण देखिने सम्भावना उच्च रहेको बताइएको छ ।भारतले कोरोना महामारीका कारण विदेशमा जाने हवाई उडानहरू बन्द गरेदेखि नै वैदेशिक रोजगारीमा रहेका भारतीयहरू नेपाल भएर पुनः काममा फर्कन थालेका हुन् । माघको दोस्रो सातादेखि गत मंगलबारसम्ममा ४० हजारभन्दा बढी भारतीय कामदार काठमाडौंस्थित भारतीय दूतावासबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएर आफ्नो विदेशी कर्मथलोमा फर्किसकेका छन् ।

यस सम्बन्धमा नेपाल समाचारपत्रले वैशाख ५ गते मुख्य समाचार बनाएको थियो । उक्त समाचार प्रकाशन भएको पर्सिपल्ट अर्थात् वैशाख ७ गते भारतीय दूतावासको आग्रहमा गृह मन्त्रालयले भारतबाटै अध्यागमनको छाप लगाएर आएका भारतीय नागरिकलाई ‘नो अब्जेक्सन लेटर’ बिना नै तेस्रो मुलुक जान दिने निर्णय गरेको थियो ।यसैबीच स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी नेपालाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकलाई कोभिड–१९ को परीक्षण नगरिदिन सबै प्रयोगशालालाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो निर्देशनविपरीत परीक्षण गरेको पाइएमा नियमअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

स्वास्थ्य मन्त्रालयको यो चेतावनीलगत्तै अध्यागमन विभागले सोमबार एउटा सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रूपमा प्रयोग गरी तेस्रो मुलुक जान बुधबार राति १२ बजेदेखि रोक लगाएको छ ।सरोकारवाला निकायहरूको पछिल्लो कदमले तेस्रो मुलुकलाई गन्तव्य बनाई काठमाडौं आउने यात्रुहरूबाट कोरोना संक्रमण फैलन सक्ने सम्भावना रोकिएको छ । तर, यसअगावै नेपाल आएर क्वारेन्टिनमा बसिरहेका विदेशीहरूबाट संक्रमण फैलन सक्ने सम्भावनाप्रति पनि सरोकारवाला निकायहरू चनाखो हुनु उत्तिकै जरुरी छ ।