काठमाडौंमा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय


न्युज अफ नेपाल , काठमाडौँ ।

सरकारले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख मसान्तसम्‍म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

कोरोना भइरस भयावह अवस्था निम्‍तिने खतरालाई मध्यनजर गर्दै १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको हो । काठमाडौँ उपत्यकाका प्रजिअहरू एक साता मात्रै निषेधाज्ञा जारी गरे पनि सरकारले त्यसलाई लम्ब्याएर बैशाख मसान्तसम्म पुर्‍याएको हो ।

संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन कसैले विदेशबाट अक्सिजन आयात गर्न चाहे भन्सार छुट दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको छ । यो विषय पनि सीसीएमसीले सिफारिस गरेको थियो ।

अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरूलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्‍वारेन्टिनमा अनिवार्य बस्‍नुपर्ने निर्णय गरेको छ । अन्तरिक हवाई उडान सुचारु राख्‍ने निर्णय बैठकले गरेको छ ।