उपनिर्वाचनका लागि हेटौंडामा कार्यालय स्थापना


सुनील महर्जन, काठमाडौं ।

आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनको तयारी अघि बढाउन आयोगले प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभाको सदस्यबाट रामबहादुर थापा ‘बादल’ लाई पदमुक्त गरिएको थियो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यताअनुसार आयोगले वागमती प्रदेशबाट पदपूर्ति गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ । सोही ऐनअनुसार निर्वाचनको मिति घोषणा भएसँगै उपनिर्वाचनको तयारी अघि बढाइएको हो ।आयोगले निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा १ जना जगेडासमेत गरी २ (दुई) जना जिल्ला न्यायाधीशको नामावली माग गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पत्र पठाएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।आयोगले जेठ ६ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउनेछन् ।

वागमती प्रदेशसभा सदस्य १ सय १० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जनाले मतदान गरी वागमती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्य चयन गर्नेछन् । १ सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २-२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना हाल कांग्रेसतिर छन् ।एमालेका ५६ जना सांसद केपी शर्मा ओली र माधव नेपाल पक्षमा विभाजित छन् । गत पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा एमाले माधव पक्षका २२ जना र माओवादी केन्द्रका २३ जनाले हस्ताक्षर गरेका थिए । यसलाई आधार मान्ने हो भने हाल प्रदेशसभामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेशसभा सदस्य छन् ।

यस्तै, स्थानीय तहका २ सय ३८ मतदातामध्ये एमालेको १ सय ३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन् । १ सय ३३ मा ओली पक्ष र माधव नेपाल पक्षका कति कति छन् भनेर छुट्याउन कठिन रहेको छ ।