पार्टीमा एकताको सम्भावना क्षीण हुँदै छः नेता नेपाल

0
Shares

जनकपुरधाम ।

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । पार्टी धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्षको दम्भका कारण एकता क्षीण हुँदै गएको आरोप लगाउनुभयो । पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको र त्यसको जिम्मेवार पार्टी अध्यक्ष भएको ठोकुवा पनि उहाँले गर्नुभयो ।

उहाँले आफूसँगको कुराकानीमा आफूले अध्यक्षलाई समाधानको बाटो अपनाउन आग्रह गरे पनि पार्टी एकता सुन्ने नचाहेको आरोप लगाउँदै पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राख्नुभयो । नेता नेपालले २७ प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन रहेको जनाउँदै पार्टी प्रावधानअनुसार पार्टी अध्यक्षलाईसांसद्को पद खोस्ने कुनै आधार नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीहरूको मूल घर नेकपा (एमाले) नै हो, पार्टी अध्यक्षले आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको छ ।”