क्यानाडामा नेपालीद्वारा रक्तदान

0
Shares

काठमाडौं, (नेस) ।

कोभिड–१९ का कारण जोखिममा रहेका बिरामीलाई आवश्यक रगतको कमी हुन नदिन क्यानाडामा दर्ता भएको गैर नाफामूलक सामाजिक संस्था ‘सीमाविहीन सहयोगी हातहरू’ ले ओन्टारियोको लन्डन शहरमा लन्डन ब्लड सेन्टरसँग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली नयाँ वर्ष २०७८ को अवसरमा योजना गरिएको उक्त रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । क्यानेडियन रक्तसञ्चार लन्डनकी व्यवस्थापक जमैरिचमनले नेपाली समूदायले महामारीका बीचमा पनि रक्तदान गरेर समाजसेवामा ठूलो योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो । साथै उहाँले भविष्यमा पनि क्यानाडाको स्वास्थ्य क्षेत्रमा संस्थाको सहयोगको रहने विश्वास व्यक्त गर्नुभयो ।

रक्तदान कार्यक्रमका संयोजक संस्थाका सल्लाहकार ज्योति वैद्यले मानवीय सहयोगले धेरै महत्व राख्ने बताउँदै यस्तो कार्यक्रम अन्य शहरहरूमा पनि आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।