आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी


काठमाडौं ।

आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो ।

विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो । सूचना थाहा नपाएका केही भक्तजन आज बिहानै मन्दिर पुगेका थिए । केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन् ।

मन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा।मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

विश्वभर फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ ।  गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले विरोधसमेत जनाएका थिए ।मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्यरूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएपछि भेटीघाटीबाट कोषलाई हुने आम्दानी पनि बन्द हुने भएको छ ।