स्थानीय सेवा प्रदायकको आसन ढोकैमा


कपिल काफ्ले, काठमाडौं । 

सिंहदरबार गाउँमा’ पुगेपछि त्यसका प्रमुखचाहिं कहाँ बस्नुपर्ला– तीनतले अफिसको माथिल्लो तलामा वा मूल ढोकासँगै ?‘म त मूलढोकाकै साइडमा बस्न मन पराउँछु, सेवाग्राहीहरुलाई साँच्चिकै सहज ढंगले सेवा दिने हो भने हामीजस्ता जनप्रतिनिधिले लुकेर बस्ने कुरै आउँदैन’, कीर्तिपुर नगरपालिका ६ का वडाअध्यक्ष न्हुच्छे महर्जन भन्नुहुन्छ– कर्मचारी साथीहरु बारबेर पारेर च्याम्बर बनाइदिऊँ भन्थे, मैले मेरा मतदाताले कसरी सेवा पाइरहेका छन्, प्रत्यक्ष देख्नुपर्छ भनेर मानिनँ ।’

जस्तापाताले छाएको टहराबाट हालसालै पक्की र कलात्मक भव्य भवनमा सरेका महर्जन भुइँ तलामा मूलढोकाबाट प्रवेश गर्नासाथ देखिने गरी बस्नुभएको छ । ‘यो आसन अस्थायी कि स्थायी’ भनेर प्रश्न गर्दा उहाँले सधैंं यसरी नै आम नागरिकको पहुँचमा बस्ने जानकारी दिनुभयो ।
सेवा प्रदायक कहाँ कसरी बस्ने भन्ने सम्बन्धमा विज्ञहरुले आ–आफ्ना धारणा राखेका छन् । विश्वप्रसिद्ध क्लिपफोलियोका संस्थापकमध्येका एक आलन विल भन्नुहुन्छ, ‘व्यावसायिक सफलताका लागि सेवा प्रदायक कहाँ कसरी बस्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’क्लिपफोलियो डट कममा बिल लेख्नुहुन्छ, कार्यस्थलमा जिम्मेवार व्यक्तिहरुको आसन व्यवस्थापनले संस्थाको उपलब्धिमा प्रभाव पार्दछ, भौतिक संरचना र कार्य–प्रक्रिया कमजोर रहे परिणाममा नकारात्मक असर पर्दछ ।कार्यालय कस्तो ठाउँमा छ, त्यसको क्षेत्र कति फराकिलो छ, कुन जिम्मेवारीका सेवा प्रदायक कहाँ कतातिर फर्केर बस्ने भन्ने विषय महत्वपूर्ण हुने विलको निष्कर्ष छ ।

कार्यालमा सेवाग्राहीलाई तदारुकताका साथ सेवा प्रदान गर्ने संरचना हुनु त आवश्यक छ नै, उनीहरुले सेवा प्रदायकप्रति विश्वास जाग्ने आधार पनि पाउनुपर्छ’, उहाँ लेख्नुहुन्छ– ‘काम र जिम्मेवारी हेरेर कर्मचारीको आसन निर्धारण गरिनुपर्छ । ’हामी वडाध्यक्षहरुको जिम्मेवारी वडावासीहरुको समस्याको समाधान हो, खास गरी पानी, बिजुली, ढल, नागरिकता, पत्र आदिका लागि सिफारिसमै हाम्रो अधिकांश समय जान्छ’, वडाध्यक्ष महर्जन भन्नुहुन्छ– ‘यस्ता कामका लागि आएका सेवाग्राहीका लागि ढोकैछेउमा बसिदिनु ठीक हुने देखेर मैले यो ठाउँ रोजेको हुँ ।’नेपालको संविधान–२०७२ ले तीन तहको सरकारको व्यवस्था गरेपछि हाल मुलुकका ७७ जिल्लामा ७ सय ५३ स्थानीय तह सक्रिय छन् । यसमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका रहेका छन् । यी सबैमा कार्यकारी निकायको व्यवस्था छ, वडाध्यक्ष वडाका कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका छन् ।

वडाध्यक्षले २२ प्रकारका जिम्मेवारी दैनिकरूपमा निर्वाह गर्नुपर्ने व्यवस्था देखिन्छ । ४१ प्रतिशत महिला स्थानीय तहको नेतृत्वमा रहेको र सामाजिक सहभागिताको पक्षलाई पनि स्थान दिएको यस संरचनामा लोकतान्त्रिक अभ्यासका विभिन्न प्रयोगहरु प्रथमपटक भएका छन् । वडाध्यक्ष महर्जनको यस प्रयोगलाई मुलुकका धेरै स्थानीय तहले कार्यान्वयन गरेको देखिन्छ । वडा कार्यालयको भौतिक संकुचनका कारण पनि अधिकांशमा वडाध्यक्ष लुकेर बस्ने अवस्था छैन ।