शिक्षामन्त्रीद्वारा दक्षिण कोरियाली सरकारको प्रशंसा


नेपाल समाचारपत्र, काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दक्षिण कोरिया सरकारको सहयोगमा शिक्षा क्षेत्रमा केही महत्वपूर्ण परियोजना सम्पन्न गरेकोमा दक्षिण कोरियाली राजदूतमार्फत कोरियाली सरकारको प्रशंसा गर्नुभएको छ । उहाँले कोरियाली सहयोग नियोग कोइकाको सहयोगमा तीनवटा परियोजना कार्यान्वयनमा रहेको बताउँदै यस किसिमको सहयोगबाट दुई देशबीचको मित्रता अझै प्रगाढ हुँदै जाने बताउनुभयो ।

राजदूत पार्क छोङ सुकसँग मन्त्रालयमा भएका शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालमा लगानी गर्ने पाँच ठूला देशमा परेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘दक्षिण कोरियाली सरकारले नेपालको शिक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सबल बनाउने विश्वास लिएको छु ।’उहाँले कोइकाको सहयोगमा निर्मित सीटीईभीटीअन्तर्गतको टीआईटीआईमा सम्पन्न भएको आईटी भवन उदाहरणीय रहेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीबाट यही वैशाख १७ गते उद्घाटन गरिने सो भवन सूचना र प्रविधिका लागि महत्वपूर्ण रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।दक्षिण कोरियाली सरकारले बुटवलमा निर्माण भएको प्राविधिक शिक्षालय र बर्दिवासमा निर्माणका क्रममा रहेको पोलिटेक्निक स्कुलले थप महत्व दिने उहाँको भनाइ थियो ।

शिष्टाचार भेटका क्रममामा राजदूत छोङ सुकले दक्षिण कोरियाली सरकारले नेपालको शिक्षा क्षेत्रमा थप सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।मन्त्रीसँग भेट्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै राजदुत छोङ सुकले दक्षिण कोरियाली सहयोग नियोग (कोइका) र राजदूतावासले नेपालको अर्थतन्त्र विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाले विश्वभाषा क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेपछि कोरियाली भाषाप्रति मोह बढेको चर्चा गर्दै अब निकट भविष्यमा सोही क्याम्पसमा कोरिया भाषाको स्नातक तह सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको उल्लेख गर्नुभयो ।उहाँले दक्षिण कोरियाली सरकारले गरेको परियोजनाको विषयमा नेपाल सरकारले गरेको प्रसंशाप्रति खुलैरै स्वागत गर्नुभएको थियो । भेटका क्रममा मन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धमा निरन्तरता र सबलता प्राप्त गर्नेमा विश्वास रहेको बताउनुभयो ।