न्युज अफ नेपाल ,सुर्खेत ।
नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।
एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत पाएका हुन् । प्रदेशमा शुक्रवार भएको मतदानमा विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । २० प्रदेश सभा सदस्यको मत चाहिनेमा शाहीले २२ मत प्राप्त गरेका थिए ।
प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । ६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको छ । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो । नेकपा एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।
दलको शुक्रबार साँझ बसेको बैठकले फ्लोर क्रस गर्ने एमालेका सांसदहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
प्रतिक्रिया