मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


पुष्कर बुढाथोकी, भक्तपुर ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुर नगरपालिका १ चुनदेवीमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।प्रदेश नं. ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडक किनारको रेलिङमा ठोक्किएर दुर्घटना भई दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाँकेको नेपालगञ्ज घर भइ हाल काठमाडौंको पुतलीसडक बस्ने २० वर्षीय सूर्य ओली र भोजपुरको चौकीडाँडा गाउँपालिका घर भइ हाल पुतलीसडक नै बस्ने १८ वर्षीय सुमन गिरीको मृत्यु भएको थियो ।महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले मोटरसाइकल सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।दुर्घटनामा परेकालाई उद्धार गरी मध्यपुर अस्पताल लगिएकोमा उनीहरुको उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरुले तीव्र गतिमा रहेको उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सूर्यको टाउको र छातीमा र सुमनको टाउकोमा गम्भीर चोट पुगेको चिकित्सकले जानकारी दिएका छन् ।घटनास्थल नजिकै रहेको सीसीटीभीको अभिलेख हेर्दा मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किई दुर्घटना भएको र मोटरसाइकललाई अन्य कुनै सवारीसाधनले ठक्कर दिएको नदेखिएको प्रहरीको भनाई छ ।दुर्घटनामा परेको मोटरसाइकल सडक किनाराको बारमा ठोक्किइ उछिट्टिएर सडकमा समेत घिस्रिएको थियो ।