डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

94
Shares

विमल विष्ट, डोटी ।

डोटीको जोरायल गाउँपालिका–२ भट्टी बजारमा आगलागि हुँदा तीन पसल जलेर खरानी भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट स्थानीय होटल सञ्चालक नवलसिंह परियारका एक भान्सा, एक होटेल तथा उहाँकी छोरी दुर्गा दमाइँको एक पशल जलेर नष्ट भएका हुन् ।

आगलागिका कारण कम्तिमा पनि तीस लाख बराबरको क्षेती भएको बताइएको छ । यहाँका सामुदायिक वनमा लागेको आगो एका एक भीमदत्त राजमार्ग नजिकै रहेको उक्त भट्टी बजारमा आउदा आगलागि भएको जोरायल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रमिला जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागिका कारण होटेल तथा पशलमा भएका सम्पूर्ण सर सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

पछिल्लो एक महिना अघिदेखि यहाँका समुदायिक वनमा लागेको अहिले सम्म पनि नियन्त्रणमा आउन नसक्दा गाउँ घरमा आगलागि हुन थालेको छ । आगलागिबाट खाद्यान्न सहित लुगा कपडा जलेर नष्ट भएपछि स्थानीय छिमेकीहरुले पीडितहरुलाई अहिले राहत स्वरुप खाद्यान्न तथा लुगाकपडा दिन थालेको बताइएको छ । आगलागि पीडीतहरु अहिले पालमनी बसीरहेका छन् ।

जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन् । यहाँका नौवटै स्थानीय तहमा रहेका सामुदायिक वनमा एक महिना पहिलेदेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् ।

यहाँका दिपायल सिलगढी, पुर्वीचौँकी, केआइसिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन सखाफ हुँनुका साथै आगो गाउँ बस्तिमा आउन थालेको दिपायल सिलगढी नगरपालिका– ६ की स्थानीय एस्वर्या विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी नपर्दा सुक्खा यामले जङ्गलमा आगलागी भएको छ, सयौँ हेक्टर जमिन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर खरानी भएका छन् । स्थानीयबासीका अनुसार जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गइरहेको छ । डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ ।

जिल्लामा कम्तिमा पनि ३५० भन्दा बढी सामुदायिक वन रहेका छन् । यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आउन थालेकाले अब गाउँ नै सखाप हुने भन्दै स्थानीयवासीमा चिन्ता थपिएको छ ।