दिवा खाजाको प्रभावले विद्यालयमा बढ्न थाले विद्यार्थी


दुर्गाप्रसाद शर्मा, पर्वत  ।

कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयमा रहेको बाल विकास केन्द्रमा केही समय पहिलेसम्म करिब १५ जना बालबालिकाहरू आउँथे तर करिब २ महिनायता विद्यार्थीको संख्या २३ पुगेको छ ।

प्रायः घरमै बस्ने तर विद्यालय आउन नमान्ने ससाना विद्यार्थीलाई विद्यालयमा नै वितरण गरिने खाजाले लोभ्याएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा प्राथमिक तह(१–५) मा अध्ययनरत विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले देशैभरका विद्यार्थीहरूलाई दिने व्यवस्था गरेपछि पर्वतका विद्यालयले विद्यालयमा मेस चलाएर खाजा बनाउने अनि कक्षामा नै खुवाउने गर्न थालेका छन्। जसका कारण प्राथमिक तहमा विद्यार्थीको आकर्षण बढेको हो । यसले विद्यार्थीको टिकाउदरसमेत बढ्ने देखाएको छ।कालिका माविका शिक्षक सन्तोष पौडेलका अनुसार पहिले भर्ना भएका विद्यार्थीसमेत विद्यालयमा नियमित नहुने समस्या थियो । विद्यालयमा खाजा खुवाउने कार्यक्रम शुरू भएपछि भर्ना नभएका विद्यार्थीसमेत कक्षामा आउन थालेका छन् । ‘मामाघर बस्ने गरेका बाबु नानीहरू पनि विद्यालयमा आउन थालेका छन्। उमेर पुगेकैहरूसमेत आउन नमान्ने समस्याका बीच उमेरै नपुगेका बालबालिकाहरू आएका छन्,’ उहाँले भन्नुभयो ‘समय तालिकाअनुसार फरक बारमा फरक खाजा खुवाउने गरिएको छ । विद्यालयमा पकाउने भएकाले स्वस्थ छ।’ तर सरकारले दिएको प्रतिदिन १५ रुपैयाँका दरमा उनीहरूको भोक मेट्ने गरी र परिकार फेरेर खुवाउन समस्या हुने उनको भनाइ छ।

कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमले स्थानीय र अग्र्यानिक वस्तु महँगो पर्दा सरकारले दिएको रकमबाट बालबालिकाहरू सन्तुष्ट हुन नसकेकाले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन बजेट पनि बढाउनुपर्ने बताउनुहुन्छ । उहाँले आफ्नो विद्यालयमा पनि पहिलेको तुलनामा विद्यार्थीहरू नियमित हुन थालेका तथा बालविकास केन्द्रमा आउनेको संख्यासमेत बढेको जानकारी दिनुभयो ।जिल्लाका विभिन्न स्थानीय तहका अनुसार जिल्लाका कुल २ सय ८८ वटा विद्यालयमा नै यो कार्यक्रम चलिरहेको छ। बालबालिकाले विद्यालयमै खाजा खान पाएपछि उनीहरू विद्यालयमा आकर्षित हुनुका साथै पढाइमा समेत सुधार हुने भनी विद्यालयबाट प्रतिक्रिया आएको कुस्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षत्रीले बताउनुभयो । ‘खाजा खुवाउन सुरु गरिएपछि हामीले विभिन्न विद्यालयहरूको प्रतिक्रियाहरू लिइरहेका छौँ।’

उहाँहरूको गुनासो अलिकति रकम कम भयो भन्ने त छ नै । तर, जति त्यसलाई नै व्यवस्थापन गर्दा विद्यार्थी खुसी भएका र विद्यालयमा आएको तथा अध्ययनमा समेत सुधार भएको बताउनुभएको छ,’ उहाँले भन्नुभयो ‘बजारका जंक फुड खाने बानीलाई विस्थापित गर्नसमेत यो उपयोगी बनेको छ। तर १५ रुपैयाँमा के नै पो खाजा आउने अवस्था छ र? गाउँमा तरकारी फलाउनै महँगो पर्छ। बजारको कुरा खुवाउनु उपयुक्त छैन।’सदरमुकाम र सुगम ठाउँमा रहेका कतिपय विद्यार्थीले घरबाट खाजा बोकेर लैजाने र मध्याह्नमा खाने गरेका भए पनि कतिपय ग्रामीण क्षेत्रमा अझै पनि मध्याह्न समयमा खाजा खानकै लागि घरमा जाने चलन छ। यसका कारण विद्यार्थीहरू पटक–पटक घर आउजाउ गर्नुपर्ने तथा घरमा जाँदा खाजा तयार नभएको भए विद्यालय फर्किनै ढिलो हुने गरेको थियो। दूरी टाढा भएका कतिपय विद्यार्थी त दिनभर भोकै विद्यालयमै रहनुपर्ने अवस्था थियो । तर अब विद्यालयमा खाजा बन्ने भएपछि त्यो दौडधुप नहुँदा सजिलो भएको महाशिला गाउँपालिका–५ लुंखुमा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत छात्रा निशा अधिकारीले बताउनुभयो ।