डढेलो नियन्त्रणमा ध्यान देऊ


देशभरका वन–जंगलमा केही महिनायता डडेलो लाग्ने क्रम बढेको छ । हिउँदको समयमा डढेलोको जोखिम बढी हुने गर्छ । डडेलो लाग्नुका पछाडि मानिसकै मुख्य हात हुने गर्छ । ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई मूर्त रूप दिनका लागि सरकारी स्तरबाट भए÷गरेका प्रयासहरू प्रभावकारी बन्न नसक्दा डडेलोको घटना दिन प्रतिदिन बढ्दै गएको छ ।

डडेलो लाग्नुको मुख्य कारण नागरिकमा देखिएको जनचेतनाको कमी नै हो । वन–जंगल जोगाउन, संरक्षण गर्नका लागि उपभोक्ता समिति र विभिन्न संघ–संस्था खोलिएका छन् । डडेलो मानवबाट सिर्जित हुने समस्या हो । डडेलो रोक्नका लागि मु्ख्य भूमिका वन–जंगल आसपासमा बसाबास गर्ने बासिन्दाकै हु्न्छ ।एउटा झिल्कोले संसार सखाप पार्न सक्छ भनेझैं मानवीय त्रुटिका कारण लाग्ने डढेलोबाट धेरै धन–जनको क्षति हुने गरेको छ । यस वर्ष पनि देशका विभिन्न वन–जंगलमा लागेको डडेलोका कारण राज्यलाई ठूलो क्षति पुगेको छ । विशेष गरी डडेलोबाट वन्यजन्तु बढी मारमा पर्ने गरेका छन् । वन–जंगलमा रुख–बिरुवा नाश हुनुको साथै वन्यजन्तुकै अस्तित्वसमेत संकटमा पर्दै आएको छ ।अहिले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र नै विभिन्न व्यक्ति वा समूहले आगो लगाउने क्रम बढेको छ । वन्यजन्तुले दुःख दिएको भन्दै स्थानीयले लुकीछिपी डडेलो लगाउने गरेको पनि पाइन्छ । ठूलो क्षेत्रमा एकैपटक आगलागी हुँदा निभाउन पनि सहज हुने अवस्था छैन । जंगलभित्र सबै ठाउँमा सडकको पहुँच नहुँदा डढेलो नियन्त्रणका लागि आकाशेपानीको भर पर्नुपर्ने बाध्यता छ ।

डडेलोको समस्या तराई क्षेत्रमा मात्र होइन केही सातायता पहाडी क्षेत्रमा पनि निकै बढ्दै गएको छ । वर्षौंको लगानी र मेहनतबाट जोगाइएको वन केही दिनको डडेलोले सखाप हुने गरेको छ । डढेलोका कारण कलिला बोट–बिरुवा सखाप हुने गरेका छन् । डढेलोले बोट–विरुवा मात्र होइन, अमूल्य जडीबुटीसमेत सखाप हुने गरेको छ ।डढेलाका कारण वायु प्रदूषणमा समेत ठूलो असर गर्ने गरेको छ । डढेलो नियन्त्रणका लागि चनाखो हुनुपर्ने स्थानीय सरकारको ध्यानजति सबै डोजरमा गएको छ । सम्भावित डडेलोबाट वन–जंगल जोगाउन अपनाउनुपर्ने पक्षमा ध्यान नै जान सकेको हुँदैन । वनको उपभोक्ता समितिमा बस्न लडाइँ गर्ने गरिएको भए पनि संरक्षणमा भने निकै कम ध्यान जाने गरेको छ । पहाडी क्षेत्रको वनमा आगलागी हुँदा नियन्त्रण गर्न निकै कठिनाइ छ । भौगोलिकरूपमा डढेलो नियन्त्रण गर्न त्यति सम्भव छैन । अझ चैतको हावाहुरीले डढेलो थप फैलाउन मद्दत गर्ने गरेको छ ।

सरकारले डढेलो लागेपछि हार–गुहार गर्नेतिर भन्दा डढेलो लाग्न नदिन नागरिकमा जनचेतना जगाउन जरुरी छ । स्थानीय सरकारले पनि केन्द्र सरकारको मुख ताकेर बस्ने भन्दा पनि आफूसँग भएको स्रोत र साधनलाई परिचालन गरेर अगाडि बढ्नुपर्छ । सरोकारवाला निकाय सबै एकताबद्ध भएर लागेको अवस्थामा मात्र वन–जंगल जोगाउन सकिन्छ ।