नेपाल समाचारपत्र, काठमाडौं ।
निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा भइरहेको छ । आयोजनाको माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी वैशाख ६ गतेभित्र सम्पन्न गर्न लट–२ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको आयोजनाकाृ भनाइ छ ।
आयोजनाका अनुसार अहिले हाइड्रोमेकानिकल तर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित कंक्रिटिङको काममात्रै बाँकी छ । बाँकी रहेका सामान्य काम पूरा गरी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हालेर पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भहरुको प्राविधिक परीक्षण गर्ने लक्ष्य रहेको छ ।मुख्य निर्माणअन्तर्गत बाँध, इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरण प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्त रुपमा बाँकी रहेका निर्माण कार्यहरु सिघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिका बारेमा छलफल गर्नु भएको छ ।
वैशाख ११ गतेबाट सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७–९ दिनभित्र परीक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६-६ वटा टर्वाइन र जेनेरेटरहरुको क्रमैसँग परीक्षण र कमिसनिङको काम शुरू हुनेछ । जसअनुसार पहिलो युनिटबाट वैशाख महिनाभित्र विद्युत् उत्पादन शुरु हुनेछ । ‘भूकम्प, बाढीपहिरो, कोरोना कहर जस्ता समस्या झेल्दै आएको आयोजनाबाट अब विद्युत् उत्पादन शुरु गर्न सक्ने अवस्थामा पु¥याएका छौं, निर्धारित तालिकाभन्दा अगावै विद्युत् उत्पादन हुने गरी बाँकी रहेका अगाडि बढाएर सम्पन्न गर्नुपर्छ,’ शाक्यले भन्नुभयो–‘चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन हुनुपर्छ ।’ आयोजनामा ७६-७६ मेगावाटका ६ वटा युनिटहरु रहेका छन् । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश: विद्युत उत्पादन हुनेछ ।
भूकम्प र बाढीपहिरोले पु-याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो । लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरण उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर लगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो ।
‘स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूला–ठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा प¥यो, त्यसबाट तंग्रिदै विद्युत् उत्पादनको चरणमा पुगेको छ, यो सबैका लागि खुसीको विषय हो’,उहाँले भन्नुभयो । लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो । आयोजनाले चरिकोट–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपियाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले दोलखाको सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ । यही पूर्वाधारलाई प्रयोग गरी तामाकोसी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसी बाहेक सानाठूला गरी करिब ७०० मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत आयोजना अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साबिकका २० गाविसका जनतालाई आवतजावत सहज भएको छ ।
प्रतिक्रिया