निःशुल्क योग गरी किन स्वस्थ नबन्ने ?


योगलाई विश्वसामु फैलाउन अहिले भारत लागिपरेको छ तर योगको जननी मानिने नेपाल भने यो बिषयमा निष्क्रिय प्रायः छ । यद्यपि केही वर्षदेखि नेपालमा पनि राष्ट्रिय योग दिवस मनाउने र यसको महत्व फैलाउने काम भने व्यक्तिगत तवरबाटै भयो । केही यसका विज्ञबाट पनि हुँदै आएको छ, जुन कुरा सराहनीय छ । तर सरकारी पक्षको भने छिटफुट घटनामा बाहेक संलग्नता शून्य प्रायः छ । योगमा सबैभन्दा लामो समय निरन्तर आसन गरेर विश्वकीर्तिमान राख्ने मानिस नेपालका हुन् र उनलाई विश्वले सम्मान दिएको छ, स्वीकारेको छ । यद्यपि नेपाल भने अझै यसको महत्व बुझ्नबाट वञ्चित छ । यो हाम्रा लागि सकारात्मक पक्ष भने पक्कै हैन ।

योगीहरुका अनुसार योग बिहानको खालि पेटमा गर्दा राम्रो मानिन्छ । श्वास–प्रश्वाससम्बन्धी प्राणायाम बिहानको समयमा गर्दा राम्रो हुन्छ । आसन, प्राणायाम र केही योगक्रियाहरु बिहान गर्दा दिनभरिका लागि राम्रो हुन्छ र आनन्द पनि हुन्छ । योग गर्ने समय नभएका भने खाना खाएको ३ घण्टापछि र खाना खानुभन्दा १५ देखि २० मिनेटपहिला गर्दा फाइदाजनक हुन्छ ।विश्वले स्वास्थ्यको क्षेत्रमा योगलाई स्वीकारेर यसको भरपूर उपयोग गरिरहेको भए तापनि योगको जननी मानिने नेपालमा भने यसले प्राथमिकता पाउन सकेको छैन । यो वास्तवमै हास्यास्पद पक्ष हो । हाम्रा विभिन्न पूर्वीय छिमेकी मुलुक साथै पाश्चात्य मुलुकमा यसको अनुसन्धान र उपयोग द्रुत गतिमा भइरहेको छ । साथै व्यावहारिकरुपमा नसर्ने रोगको नियन्त्रण र निराकरणका लगि सरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा योग थेरापीले प्राथमिकता पाएको छ ।

तर नेपाल भने यो विषयमा अनभिज्ञ प्रायः छ । भारतमा मौलाउँदो मधुमेह रोगको नियन्त्रण र निराकरणको लागि शुरु गरिएको सरकारी कार्यक्रम (मधुमेह मुक्त भारत) का लागि योग क्षेत्रलाई प्रविधिक सपोर्टका लागि नेतृत्व दिइएको छ । यस कुराले स्वास्थ्य क्षेत्रमा योगको महत्वलाई पुष्टि गर्दछ । यसर्थ नेपालमा पनि मौलाउँदै गएको नसर्ने रोगहरुको नियन्त्रण र निराकरणका लगि योग अचुक उपाय हुन सक्छ भन्दा अनुपयुक्त नहोला ।योगका विभिन्न विधि एवं आसन हुन्छन् । यस्ता आसन सबैका लागि उपयोगी हुन्छन् भन्ने छैन । कतिपयका निम्ति त योगासनले घातक नतिजा दिन सक्छ । खासगरी गर्भवती, रोगी, शल्यक्रिया गरेका, मधुमेह, उच्च रक्तचाप भएकाहरुलाई कतिपय आसनले उल्टो असर पु-याउँछ । त्यसैले योगासन गर्नुअघि प्रशिक्षकको सल्लाह लिनै पर्छ ।अझ राम्रो त के हुन्छ भने, आफ्नो रोगअनुरुप उचित योगासन गर्नु फाइदाजनक हुन्छ । कुन रोगका लागि कस्तो योगासन गर्ने ? थाहा हुनुपर्छ ।

योगले मानव शरीरलाई स्वस्थ राख्न धेरै मद्दत गर्छ । मनलाई खुशी राख्न र मानसिक समस्या हटाउन योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । दीर्घकालीन रोगहरु जस्तै– मधुमेह, ब्लड प्रेसर, हृदयघात, क्यान्सर हुने समस्या पनि हुन सक्छ । योगले मानिसलाई यी समस्याबाट टाढै राख्ने योगीहरु बताउँछन् ।योगको उत्पत्ति शिवतत्वबाट भएको हो भन्ने मान्यता छ । शिव प्रकृति र पुरुषको संयुक्त स्वरूप हो । ऋषि पाणिनीले व्याकरणका जुन चौध सूत्रको निर्माण गरे त्यसको प्रथम झलक उनलाई शिवको नृत्यबाट प्राप्त हुन गएको हो र त्यसैका आधारमा नै उनले यी सूत्रहरुको निर्माण गरेको इतिहास छ ।योग ६ वटा आस्तिक दर्शनमध्येको एक हो । यस दर्शनका प्रणेता पतञ्जली हुन । पतञ्जलीले योगसूत्रको आविष्कार गरेका हुन् । यी योगसूत्रको मुख्य तथा गहन व्याख्या व्यासले गरेका छन् । यो व्याख्या व्यासभाष्यमा उल्लिखित छ । यी सम्पूर्ण व्याख्या र विचारको मुख्य स्वरूप नै प्रकृति र पुरुषको मिलन गराउनु हो । कतै–कतै प्रकृति र पुरुषको पृथकत्व देखाउनु पनि योग मानिन्छ । तर यी सबको लक्ष्य हो योग अर्थात् ब्रह्मलीन हुनु ।

योगका निश्चित यति नै प्रकार छन् भनेर यकिन गर्न सकिँदैन । तर योगलाई आठ भागमा विभाजन गर्न सकिन्छ, जसलाई हामी अष्टांग योग पनि भन्न सक्छौं । त्यसमा पाँच बहिरंग योग हुन् भने तीनचाहिँ अन्तरंग योग । बहिरंग योगमा यम, नियम, आसन, प्राणायाम र प्रत्याहार पर्दछन् भने अन्तरंग योगमा धारणा, ध्यान र समाधि । दैनिक गरिने प्रक्रिया नै बहिरंग योग हुन् । जस्तै– बिहान उठ्ने, नुहाउने, सफा हुने, प्राणायाम गर्ने र हठयोग वा एक्सरसाइज आदि गर्ने । यी सबै प्रक्रिया अन्तरंग योगका लागि पूर्वतयारी हुन् । तर अन्तरंग योग कठिन र निकै नै संवेदनशील हुन्छ । जे होस्, योगले जीवनका सम्पूर्ण सारभूत पक्षलाई विविध किसिमले उजागर गर्दछ ।
– केशरी रेग्मी, कैलाली