सभामुख सापकोटा र इजरायलका राजदूतबीच भेट


काठमाडौं, (नेस) ।

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच बिहीबार भेट भएको छ । भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका लागि शुभकामना दिनुभयो ।

सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनैतिक सम्बन्ध रहेको चर्चा गर्दै दुुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । उहाँले इजरायलले कोरोना नियन्त्रण र आमनागरिकलाई खोप लगाउने कार्यमा प्राप्त गरेको सफलताका लागि बधाई ज्ञापन गर्नुभयो ।सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले दुई देशका संसदबीचको सम्बन्धलाई जीवन्त बनाउन दुवै देशबाट पहल र प्रयत्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमणलगायतका सबै क्षेत्रमा सम्बन्ध र सहकार्यको ढोका छिट्टै खुल्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

सभामुख सापकोटाले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै नेपालीलाई इजरायलले रोजगारीको अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो ।राजदूत गोडेरले नेपाल र इजरायलबीच राम्रो सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गर्नुभयो । उहाँले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताउनुभयो ।राजदूत गोडेरले इजरायलका ५० प्रतिशत नागरिकले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेको जानकारी गराउँदै कोरोनाविरुद्धको लडाइँमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।