सर्वदलीय सरकारको परिकल्पना



केशव अधिकारी

अहिले नेपालको राजनीतिक तरङ्ग निकै तीव्र गतिले प्रवाहित भइरहेको छ । राजनीतिक घटनाहरुदू्रत गतिमा परिवर्तन भइरहेका छन् । दल बदलका लहरहरू चल्दै छन् । आलोचना र आत्मालोचनाहरू भइरहेका छन् । राजनीतिक बाजी जित्नेहरू मख्ख पर्दै र हुँदा नहुँदा भाषणमा लागेका छन् । हार्नेहरु बौलाउनु न मर्नु भएर ‘गुहार मैले यतिन्जेल गलत काम गरेँ,अब म त्यस्ता गलत काम कहिल्यै गर्दिन’ भनेर कसम खाँदै र कपाल कन्याउँदै पुरानै राजनीतिक दलमा फर्कंदै छन् । झोले कार्यकर्ताहरु आ–आफ्ना नेताका गलत हर्कतलाई समेत उकासेर खराब हर्कतलाई ढाकछोप गरी तिनलाई राम्रा काम हुन् भनेर प्रचारबाजीमा लागेका छन् ।
काठमाडौंका जनताको मेलम्चीको पानी खाने वर्षौँदेखिको धोको बल्ल पूरा होलाजस्तो देखिएको छ । अनुयायीहरुले यसको जश ओली सरकारलाई दिएका छन् । प्रम ओलीका विरोधीहरुले उनले मेलम्चीको खानेपानीको लागि एउटा सिन्कोसम्म नभाँचेर पूरै श्रेय लिन मिल्दैन भनी जिकर गर्दै छन् ।नेपालको अहिलेको परिवेश भनेको यिनै घटना र परिघटनाबाट गुजे्रर गएको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअगाडि संसद् भङ्ग गराएर ठूलै हल्ला मच्चाएका थिए । धेरै जना सांसदहरुको जागिर खुस्केको थियो । प्रधानमन्त्री केपी शर्माले गरेको यो असामयिक काम भएकोले संसद् पुनस्र्थापित हुनुपर्छ भन्ने माग राखेर विपक्षीहरुले प्रदर्शन गरेका थिए । आखिर प्रधानमन्त्रीले गरेको ससद् भङ्ग पुनर्जीवित भयो । यस खुशीयालीमा विपक्षीहरूले मुख मिठ्याउँदै लड्डुखाए । सांसदहरुको जागिर जोगिएको खुशीयालीमा लड्डु खाएका हुन् कि संसद्को पुनस्र्थापना गरेर कानुनी राज्यको स्थिति बसालेकामा लड्डु खाए भन्ने कुरा खानेहरुले नै बुझेका होलान् । लड्डु खाएर मुख मिठ्याउनुअगावै नेताहरुको एक चरणको जुँगाको लडाइँ पनि सम्पन्न भयो । यस लडाइँमा सत्ता पक्षले हरेक व्यक्तिलाई उसको स्तरअनुसारको एक हजार नगददेखि लिएर पाँच हजार नगदसम्मको गुन र मासुभातको जोहो गरिदिन सक्योभने विरुद्धमा जुँगाको लडाइँ लड्नेहरुले त्यति धेरै खर्च गर्न नसकेका कारण उक्त लडाइँमा सत्ता पक्षको विरोध गर्नेहरुको जुँगाको लडाइँ निम्छरो देखियो ।विरोध गर्नेहरु हाम्रो बहुमत छ,अब सरकार परिवर्तन हुनुपर्छ भनेर के कुर्लेका मात्र थिए,सत्ता पक्षले त कुर्लने मात्र होइन बहुमत बटुलेरै देखाएपछि विपक्षमा कोही रुन थाले, कोही सत्तापक्षमा लपक्कै टाँसिएर डेगै नचली टाँसिई नै रहे ।पहिले कुर्लने केही विपक्षीहरु अहिले त नीलोकालो अनुहारका साथ सत्ता पक्षकै गुणगान पो गाउन थाले । सत्ता र शक्ति भन्ने चिज यस्तो अचम्मकै वस्तु हुँदोरहेछ भन्ने लागेरै त्यसो गरेका होलान्।

यी सारा नाटक मञ्चनकै माझतिर आएर भूमिगत अवस्थातिरका विद्रोही नेता भनेर चिनिने नेत्रविक्रम चन्द उर्फ विप्लवले सत्ता पक्षसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा अवतरण भएको कुराको सङ्केत गरेका छन् । उनी कुन उद्देश्यका साथ शान्तिपूर्ण राजनीतिमा अवतरित भए भनेर पनि सोच्नै पर्ने विषय बनेको छ । पहिलो कुरो त सँगै दशबर्से युद्ध गर्नेहरुले देशको ढुकुटीमा हालिमुहाली गरी खाइसके, आफू भने पछि परियो, अब त आफूले पनि नखाई भएन बाबै भनेर मानसिक डाहले अवतरण गरेका हुनसक्छन् । भूमिगत भएर लडाइँ गर्न त गाह्रो पो हुँदो रहेछ बरु अब क्रान्तिस्रान्ती एकातिर होस् वा जतासुकै होस्, शान्तिपूर्ण राजनीतिमा अवतरण गरियो भने आफ्नो भाग दह्रो पाइहालिन्छ, अरुजेसुकै होस् भन्ने ह्रास मानसिकताले अवतरित भएका पनि हुन सक्छन् ।
तेस्रो कुरो, यो देश नेपालले एउटा सबल र सक्षम नेतृत्व खोजिरहेको छ । देशले खोजेजस्तो नेतृत्व प्रदान गर्न अहिलेसम्म कोही पनि सक्षम भएनन्, त्यसैले अबका दिनमा म यो देशलाई एउटा सबल र सक्षम नेतृत्व दिएर करोडौँ जनताको आशा र भरोसाको केन्द्र बन्दै देशलाई उन्नतिको शिखरतिर लैजान चाहन्छु भन्ने पवित्र धारणा राखेर पनि उनी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका हुनसक्छन् । यी बाहेकका अन्य सवालहरुमा दशबर्से जनयुद्धको कालखण्डमा कमरेड प्रचण्डले गरेका अर्बाैँ आर्थिक अनियमितताका कुरालाई उछालेर आफू नायक बन्ने उद्देश्यले पनि अवतरण गरेका हुनसक्छन् ।

उनी जुनसुकै सकारात्मक दृष्टिले अवतरण गरेका हुन्, त्यो सही अवतरण भयो । तर खराब नियतले अवतरण गरेका भए खराब काम नै भयो । यी सबै कुरा सरकारका आउँदो समयका कदमहरुले बुझाउँदै जानेछन ।यी सबै घटना र परिघटनाकै सन्दर्भमा सरकार परिवर्तन, सर्वदलीय सरकार निर्माण आदि विषयका कुरा पनि सतहमा आएका छन् । सर्वदलीय सरकार निर्माणको कुरा कोट्याउँदा हामी राणा शासनकाल, पञ्चायती व्यवस्थाको भोगाइ आदिका विषयमा पनि एकपटक ठोकिनुपर्ने हुन्छ । विपक्षीहरुले भनून् कि पक्षकैले भनून्, १०४ बर्से राणा शासनकाल, झन्डै साढे तीन दशक लामो पञ्चायती कालखण्डका दिनहरुका तुलनामा गणतान्त्रिक सरकारको छोटो शासनकालमा मानिसको चेतनाको स्तरदेखि लिएर विविध भौतिक उन्नतिका कामहरु अधिक मात्रामा सम्पन्न भएका छन् भन्दा फरक नपर्ला । यी सबै काम हुनमा सत्ता पक्ष र विपक्ष दुवैको योगदान रहेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछिकै बीचको कालखण्डमा गणतन्त्रवादीहरु देशलाई सुशासन दिएर उन्नतिको बाटोमा अगाडि बढ्न पटक्कै नसकेको, गणतन्त्रवादीहरुले देश विदेशीलाई सुम्पेको, धर्म–संस्कृति आदिको रक्षा हुन नसकेकोजस्ता आधारहीन आरोपका साथ ‘राजा आऊ,देश बचाऊ’का नारासमेत लागेका सुन्न, देख्न र भोग्न पाइयो । हाम्रा नेताहरुका कुनै–कुनै हर्कतहरु हेर्दा त एउटा सचेत नागरिकले पनि यही कुरो सोच्न विवश बन्नुपर्ला कि जस्तो लाग्ने हुन्छ । त्यसकारण यो देश नेपालको समग्र उन्नति, सुशासन, जनताको चाहनाबमोजिमका शिक्षा, स्वास्थ्य, रोजगारीका अवसरको सिर्जना आदि कुराहरु हामी सबैका अभिष्ट लक्ष्यका कुरा हुन् । यदि गठबन्धनको सरकारले हालकोजस्तो जुँगाको लडाइँ गर्नुको साटो अबको यो देशको आवश्यकता के हो भन्ने कुरा राम्ररी मनन गर्दै तदनुरुपको बाटोमा लाग्न सक्नुपर्ने हुन्छ ।हालको राजनीतिक धरातल नै भ्रष्टाचारको दलदलमा फसेर बनेको पाइन्छ । सत्ताका लागि मरिहत्ते गर्ने सबैजसो दलका नेताको पहिलो अभिष्ट लक्ष्य भनेको कसरी धेरै कमाउने भन्ने कुरामा एकोहोरो तबरले घोटिएर आएको देखिन्छ । यो मानसिक घोटाइले गर्दा मुखले जनताको सेवाका लागि भनेर फलाके पनि उनीहरुको मूल अभीष्ट कमाउ धन्दामा लाग्नु नै हुन्छ । यदि सर्वदलीय सरकार बन्दै छ भने सर्वदलीय सरकारका प्रधानमन्त्री जोसुकै बनून्, उनले भन्न र गर्न सक्नुपर्छ–‘मेरो नेतृत्वमा बनेको सरकारका कोही मन्त्री, सचिव आदिले कतै पनि अनियमित कार्य गर्ने छैनन् र म स्वयम् पनि गर्ने छैन । यदि कसैले र म स्वयंले पनि अनियमित काम गरेमा उचित सजायको भागी बन्नुपर्नेछ ।’

यस्तै नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउन प्रोत्सहान दिनुको साटो आफ्नै देशमा अड्याएर राख्नको लागि तथा सम्भावनाका कुनाहरु पहिल्याउनको लागि चित्त बुझ्दोरुपमा प्रयास गनुपर्नेछ । देशको हालको मूल आवश्यकताको उचित पहिचान गरी त्यसलाई सार्थकरुपमा कार्यान्वयनको पक्षमा लागेर उचित प्रतिफल लिनलायकको बनाउने बाटोमा अग्रसर बन्नुपर्नेछ ।धेरैवटा राजनीतिक दलको खिचडी सरकारले वर्तमानको राजनीतिक परिवेशलाई माथ खुवाउने गरी बिगारेर लैजान सक्ने प्रबल सम्भावना देखिन्छ । आ–आफ्ना शक्तिको आडमा आ–आफ्ना स्वार्थ पूरा गर्ने बाटामा लागेको खण्डमा ओली नेतृत्वको सरकारले गर्न सके जति काम पनि गर्न सक्नेछैन । सर्वदलीय सरकार बनेपछिको परिवेश अझै भद्रगोलमय हुनेछ । नेताहरुका जुँगाका लडाइँ अझै चर्का र प्रखर बन्नेछन् । यी सबै कुरा भनेको देशको समग्र उन्नतिका बाधक तत्व हुनेछन् ।समग्र देश नै दलदलको भुमरीमा निस्कन नसक्ने गरी फस्नेछ । धेरैजसो राजनीतिक दलका प्रायः नेतालाई यी सबै कुरा अवगत भएकै होलान् । यिनै अवगत भएका विषयले उनीहरुमा एकप्रकारको मोह उत्पन्न गर्नेछ । त्यस मोहले घमण्डको रुपधारण गरेपछिका दिन ५६ करोड यदुवंशीय चालमा रमाउन थाल्नेछन् । यसरी देशको अवस्था जहाँको त्यहीँ रहने सम्भावना अबका दिनमा प्रबलरुपमा देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्