८ लाखभन्दा बढीलाई हात्तीपाइलेको औषधि खुवाइने


भद्रपुर, (नेस) 

झापामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधि वितरण कार्यक्रममा ८ लाख बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।जिल्लाका कुल ९ लाख ३३ हजार जनसंख्यामध्ये ८ लाख ४ हजार ५७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको हो । औषधि खुवाउनका लागि ६ सय जना स्वास्थ्यकर्मी र ६ सय जना महिला स्वयंसेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयले अभियानका लागि सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । चैत २० गतेदेखि चैत मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिएको कार्यक्रम संयोजक जीवन चौंलागाईले बताउनुभयो ।झापामा आर्थिक वर्ष २०७६–०७७ मा ५ सय ५४ जना हात्तिपाइलेका रोगी भेटिएको फोकल पर्सन समेत रहनुभएका चौंलागाईले जानकारी दिनुभयो । तीमध्ये हाइड्रोशील भएका ३ सय ७२ जना, हात र स्तन सुन्निएका १ सय १० जना र खुट्टा सुन्निएका ७२ जना भेटिएको उहाँको भनाइ छ ।

कार्यक्रमको उद्देश्यमाथि स्वास्थ्य कार्यालय झापाका कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेलले प्रकाश पार्नुभएको थियो । औं चरणको हात्तिपाइले औषधि वितरण अभियान भएको बताउँदै नेपाल सरकारले सन् २०२६ सम्ममा निवारण गर्ने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो । क्यान्सरभन्दा घातक रोग हात्तिपाइले भएकाले सवैले औषधि खानुपर्नेमा उहाँले जोड दिनुभयो । हात्तिपाइलेले अशक्त, असमर्थ तथा अपांगता बनाउने र रोग लागेको व्यक्तिलाई सामाजिक तिरस्कार हुने भएकाले पनि औषधि सेवन गर्नुपर्ने उहाँले बताउनुभयो ।