व्यापारीलाई फोन गरेर १५ लाख फिरौती माग्ने २ प्रहरी नियन्त्रणमा


कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जका व्यापारीलाई फोन गरेर १५ लाख रुपैयाँ फिरौती माग्ने एक किशोरसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १७ वर्षका एक जना किशोर र अर्का २२ वर्षका वीरगन्ज–१३ राधेमाइ बस्ने प्रज्वल तिवारी रहेका छन् ।

पक्राउ परेका दुबैजनाले वीरगञ्जका एक व्यापारीलाई फोन गरी फिरौती असुल गर्ने प्रयास गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १७ वर्षिय किशोरलाई वीरगञ्ज–२२ स्थित तिलावे पुल नजिकैबाट र तिवारीलाई उनकै टोलबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

यसैबीच चोरीको मोटरसाइकल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ पर्नेमा वीरगञ्ज–१६ बस्ने २१ वर्षका राजकपुर महत्तो रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले महतोलाई वीरगञ्ज–१६ शंकराचार्य गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको हो। पक्राउ परेका महत्तोले ना ५५ प ६४६८ नं.को मोटरसाइकल चोरी गरी बीआर ०५५ –११८३ को भारतीय नम्बर प्लेट लगाएर चलाइरहेको अवस्थामा उनलाइ पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।यस्तै चोरीको ब्याट्रीसहित एक जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २४ बस्ने २१ वर्षका दिप सागर पटेल रहेका छन् ।पटेलले ना ३ ख ८४८२ नम्बरको ट्रक चलाई पावर हाउस चोकतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा नम्बर नखुलेको ट्रकको १२ भोल्टको ४ थान ब्याट्री बरामद गरेको प्रहरीले जनाएको छ। दुबै जनालाई चोरी सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।