सिद्धबाबालाई १५ दिनभित्र झिकाउन उच्च अदालतको आदेश


विराटनगर, (नेस)  ।

बलात्कार आरोप मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिनभित्र झिकाउने आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमराज ढकाल र रेणुका शाहको इजलासले सिद्धबाबालाई झिकाउन आदेश दिएको हो ।

‘दुई जना श्रीमान्को इजलासबाट प्रतिवादीलाई १५ दिनभित्र झिकाउने आदेश भएको छ’, उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले भन्नुभयो– ‘अदालती भाषामा यसलाई झगडिया झिकाउने आदेश भनिन्छ ।’ जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई सफाइ दिएपछि उच्च सरकारी वकिलको कार्यालयले २८ फागुनमा उच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।सिद्धबाबाका नाममा शुक्रबार अदालतले म्याद जारी गर्ने अदालतको तयारी छ । उच्च अदालतमा हाजिर भएपछि बयान र प्रमाण पुनः बुझ्ने प्रक्रिया हुनेछ । त्यसपछि मुद्दाको पेसी शुरु हुनेछ । गिरीलाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

प्रतिवादी पक्षको मात्रै बयानपछि जारी भएको फैसलामा महिलाको चरित्रमाथि प्रश्न उठाउँदै भनिएको छ– ‘जाहेरवाली र प्रतिवादी बीच आदान–प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसूर कायम गर्न मिल्ने देखिएन ।’विवादास्पद फैसला गर्ने न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतको न्यायाधीश नियुक्ति सिफारिसमा परेकै दिन गत फागुन २८ गते उच्चमा पुनरावेदन दर्ता भएको थियो । २०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको भनी २०७६ मंसिर ११ गते सिद्धबाबाकी महिला अनुयायीले जाहेरी दिएकी थिइन् । अदालतले सफाइ दिएपछि गिरी चतरास्थित आफ्नै आश्रममा रहेका छन् ।