बैंकिङ कसुर नियन्त्रण गर्न सरकारी निकायबीच समन्वय हुनुपर्ने


नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्नेमा उहाँको धारणा थियो । महान्यायाधिवक्ता बडालले भन्नुभयो–‘विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।’

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ कसुर र सजायसम्बन्धी कानुन जारी भएपश्चात् बैंकिङ कसुरजन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताउनुभयो । त्यसको निम्ति विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।‘सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँ–नयाँ प्रवृत्ति देखिन थालेका छन् । तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ ।’सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा राख्नुभयो । हुन्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सिर्जना गरेको उहाँको भनाइ थियो ।सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता क्षेत्रीले औंल्याउनुभयो ।नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंक ‘सुपरिवेक्षकको रूपमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस क्रममा उहाँले सुपरिवेक्षणको अवधारणा, कानुनी व्यवस्था, सुपरिवेक्षकीय अभ्यास र बैंकबाट भएका कारबाहीबारे चर्चा गर्नुभयो ।प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक सहकुल बहादुर थापाले ‘बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अनुभव, समस्या तथा सुधार गर्नुपर्ने विषयहरू’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । सो अवसरमा उहाँले ब्यूरोबाट हुने बैंकिङ कसुरको अनुसन्धान प्रक्रिया, कसुरजन्य क्रियाकलाप, बैंकिङ कसुरको अनुसन्धानमा देखिएका समस्या र समाधानका उपायबारे चर्चा गर्नुभयो । कार्यक्रममा सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानले ‘बैंकिङ कसुर तथा बैंकिबसम्बन्धी अन्य प्रचलित कानुनअन्तर्गतका कसुरको अभियोजनसम्बन्धी अनुभव, सोमा देखिएका समस्या, गर्नुपर्ने सुधार र अन्तरनिकायगत समन्वय’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।