जसपा गणतन्त्र र समावेशिता विरोधी ओलीसँग सहकार्य गर्न तयार छैन : यादव

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने जनाएका छन् ।

शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले सहकार्य नहुने बताएका छन् ।

यादवले भने, ‘ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी भएकाले जसपा सहकार्य गर्न तयार छैन।’ त्यस्तै, उनले टीकापुर घटनाका दोषी निलम्बित सांसद रेशम चौधरीसहितका कैदीबन्दीको रिहाइका लागि सरकारसँग वार्ता भइरहेको जनाउँदै भने ‘राजबन्दीको रिहाइ र मुद्दा फिर्ता एउटा पाटो हो, सरकारमा सहकार्य अर्को पाटो हो, ।

उनले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताए । ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ यादवले भने, ‘अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।’