कोरोनाको त्रासदीपूर्ण वर्षगाँठ

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

विश्वमै तहल्का मच्चाइरहेको कोरोना संक्रमणको त्रासमा नेपालमा लकडाउन गरिएको बुधबार एक वर्ष पूरा भएको छ। २०७६ साल चैत ११ गते सरकारले संक्रमणलाई फैलिन नदिन लकडाउनको घोषणा गरी नागरिकलाई घरबाहिर ननिस्कन आदेश दिएको थियो।

शरुमा केही साता वा केही महिनामै कोरोनाको कहर सकिने आस गरिएको थियो। तर एक वर्ष बितिसक्दा पनि कोरोना संक्रमणको जोखिम उत्तिकै छ। झनै नयाँनयाँ स्वरुमा कोरोनाले फेरि एकपटक विश्वमै आतंक फैलाइरहेको छ। त्यसमाथि छिमेकी भारतमा पनि कोरोनाको नयाँ स्वरुले भयावह रुप लिन थालेपछि नेपालमा पनि त्रास फैलिएको छ। कोरोनाको खोप अभियान चलेपछि विस्तारै जनमानसमा त्रास हट्दै गएको बेलामा कोरोनाको नयाँ स्वरुले फेरि त्रास सृजना गर्न थालेको हो।

एक वर्षअघि कोरोनाले मानिसहरु निर्मम तरिकाले मृत्युको मुखमा पुग्न बाध्य भएको स्वदेश तथा विदेशका समाचारले आत्तिइरहेका बेलामा लगाइएकोे लकडाउनले शहरमा संघर्ष गरिरहेका मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएपछि हप्तौं पदैलै हिँडेर भए पनि धेरैजसो मानिसहरु गाउँ फर्केका थिए। भारतमा ज्यालादारी गर्न गएकाहरु पनि दारुण अवस्थामा स्वदेश फर्केका थिए । शुरुका ४र ५ महिना गाउँमा निकै चहलपहल बढ्यो। बाँझो खेतबारी फेरि हरियो हुन थाल्यो। तर लगाएको बालीमा मल, जल नभएपछि र जोहो गरेको खर्च सकिएर ऋणमा डुब्न थालेपछि गाउँ फर्केकाहरु कोरोना कहरको वास्तै नगरी हातमुख जोड्ने बाटो खोज्दै फेरि शहर फर्किए।

कोरोना कहरको त्रासले सन्नाटा छाएको शहरमा गाउँबाट मानिस भित्रिएपछि कोरोना संक्रमणको त्रास पनि उत्तिकै फैलियो। कति घरबेटीहरुले पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट नबुझाई डेरामा पस्न पनि दिएनन् भने टोल छिमेकमा नयाँ मानिस आएको देख्नेबित्तिकै केरकार गर्न थालियो। उता, भारतबाट फर्केकाहरु पनि कामको खोजीमा शहर पस्न थालेपछि कोरोना संक्रमणको जोखिम झनै बढ्न थाल्यो।

त्यति नै बेलामा बीमा कम्पनीहरु सल्बलाउन थाले। कोरोना बीमा गर्नुस् कोरोना प्रमाणित भएको एक हप्ताभित्रै एक लाख लिएर जानुस् भन्ने प्रचार शरु भयो। धेरै मानिसले फटाफट कोरोना बीमा गरे। तर बीमा कम्पनीले बीमितलाई सेवा दिनुभन्दा विभिन्न लफडा झिकेर बीमा रकम भुक्तानी गर्न आनाकानी गरिराखेका छन्।

यस बीचमा सर्वोच्च अदालतले नेपाल सरकार र बीमा समितिलाई प्रमाण पुर्‍याएर बीमा रकम भुक्तानीका लागि निवेदन दिएका बीमितहरुलाई ३ दिनभित्र भुक्तानी उपलब्ध गराउन दुईपटक आदेश दिइसकेको छ । तर नेपाल सरकार र बीमा कम्पनीहरुले अदालको मानहानि हुने गरी बीमितहरुलाई महिनांै झुलाउने काम गरिरहेका छन्।

यसैबीच सरकारले भारतबाट खोप ल्याएर खोप अभियान नै चलाइरहेको छ भने विश्व स्वास्थ्य संगठनले कोभ्याक्सअन्तर्गत अनुदानमा दिने भनिएको खोपको पहिलो खेप पनि आइसकेको छ। त्यसै गरी सरकारले चीनबाट अनुदानमा पाएको खोप पनि ल्याउँदै छ।