भागरथी हत्या प्रकरण: आरोपीका बुबाले भने “मेरो छोरा निर्दोष छ”


न्युज अफ नेपाल काठमाडौं ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिनेश भट्ट निर्दोष रहेको उनको परिवारले दाबी गरेको छ । प्रहरीले फागुन ५ मा अभियुक्त सार्वजनिक गरेका सोही गाउँका १६ वर्षीय किशोरका बुबा दीपकराजले छोरालाई धम्क्याएर फसाइएको बताएका हुन् । घटनापछि महेन्द्रनगर बसाइ सरेका दीपकले सुधार गृह पुगेर छोरालाई भेटेपछि भने, ‘मेरो छोरा निर्दोष छ ।’

अभियुक्त दिनेश भट्ट अहिले डोटीको सिलगढीस्थित बाल सुधार केन्द्रमा छन् । बुबा र भाइलाई मार्ने धम्की आएपछि प्रहरीसमक्ष अपराध स्विकारेको बताएको दीपकराजले बताए । ‘मैले मारेको हुँ नभने तेरो बुबा र भाइलाई मारिदिन्छौं भन्ने धम्की आएको थियो,’ छोराको भनाइ उद्धृत गर्दै आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भागरथीको हत्या हुँदा मैले देखेको हुँ, एउटाले मास्क लगाएको थियो, चिन्न सकिनँ । अर्कोलाई राम्ररी चिन्छु, ती दोगडाकेदार गाउँपालिकाकै प्राविधिक कर्मचारी हुन् ।’

दीपकराजका अनुसार माघ २१ गते विद्यालयबाट घर गइरहेका बेला उनका छोराले बाटोमा उक्त घटना देखे । घटनामा संलग्न दुईमध्ये एकले घाँटीमा चक्कु राखेर उक्त कुरा कतै नखोल्न धम्क्याएका थिए । ‘तेरो बुबा र भाइ अस्पताल गएका छन्, कतै भनिस् भने दुवैलाई मारिदिन्छौं भनेर धम्क्याएका रहेछन्,’ छोरालाई भेटेर फर्केका उनले भने, ‘त्यही भएर अपराध स्विकारेको हुँ भन्छ ।’ उनका कान्छा छोरा विनोद सुस्त मनस्थितिका छन् ।

उनलाई शुक्रबार बाल सुधार गृहबाट फोन गरेर उनका छोराले केही कुरा गर्न भन्दै बोलाएका थिए । शनिबार सिलगढीमा छोरालाई भेटेर आइतबार महेन्द्रनगर फर्किएका हुन् । ‘अब तपाईंले गाउँ छाड्नु भो, उसले केही गर्न सक्दैन, सत्य कुरा गर्दै छु भन्दै मसँग रुन थाल्यो,’ दीपकराजले भने, ‘त्यतिबेला मेरै सामुन्ने अपराध स्विकारिस्, अहिले मैले गरेको होइन भन्छस् भनेर मैले सोध्दा पनि उसले सत्य कुरा यही हो भन्यो ।’ उनका अनुसार दिनेशले सुधार गृहका सुरक्षाकर्मीकै अगाडि उक्त कुरा भनेका थिए ।

दीपकराजले वास्तविक अपराधीलाई छाडेर निर्दोषलाई फसाउन खोजिएको भन्दै न्यायका लागि हारगुहार गरे । माघ २१ गते बलात्कारपछि हत्या गरिएकी भागरथीको घटनाको मुख्य आरोपितका रूपमा प्रहरीले फागुन ५ गते ती किशोरलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं खटिएका थिए । आरोपित सार्वजनिक गरेपछि मात्रै सुवेदी धनगढी फर्केका हुन् । जिल्ला अदालत बैतडीले ती किशोरलाई बाल सुधार केन्द्र पठाएको हो । छोरासँगैका साथी स्कुल गइरहेको देखेर दुःख लागेपछि गाउँ छाडेर आएको उनले बताए । ‘गहुँ छरेको थिएँ, त्यत्तिकै छाडेर आएँ,’ उनले भने, ‘अब गहुँ पाकेपछि काट्न जान्छु ।’

सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी सुवेदीले तथ्य र प्रमाणसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको र सोहीअनुसार अदालतमा मुद्दा दायर भई प्रतिवादी पुर्पक्षका लागि गइसकेकाले थप बोल्न नमिल्ने बताए । प्रहरीका अनुसार आरोपितसँग अभिभावकको रोहबरमा बयान लिइएको थियो । मुद्दा दायरपछि थुनछेक बहसका क्रममा अदालतले पनि उनका बाबुको रोहबरमा बयान लिएको थियो । त्यसपछि प्राप्त प्रमाणका आधारमा अदालतले आरोपितलाई पुर्पक्षमा पठाएको थियो । कान्तिपुर