चक्रपथ मात्रै होइन देशै सफा गर्नुपर्छ


नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चक्रपथ मात्रै नभएर देशै सफा गर्नुपर्ने बताउनुभएको छ। उहाँले सो कुरा चक्रपथ सरसफाइका अभियन्ता ताराबहादुर कुँवरले आयोजना गर्नुभएको १९८औं हप्ता चक्रपथ सफाइ अभियानमा शनिबार सहभागी हुँदै बताउनुभएको हो।

उहाँ नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि पछिल्लो समय समाजसेवामा सक्रिय हुँदै आउनुभएको छ। कुँवरको चक्रपथ सफाइ अभियान आफ्नै पालामा एउटा आन्दोलनकै रूपमा थालिएको उहाँले बताउनुभयो। ‘सानै होस् यसले एउटा राम्रो सन्देश गएको छ।’ –कुँवरको निरन्तरताको प्रशंसा गर्नुभयो। उहाँलाई चक्रपथ सफाइको संरक्षक बन्न आग्रह गर्दा आफूले व्यक्तिगतरूपमा गर्न सक्ने कार्यबाट पछि नहट्ने बताउनुभयो।चक्रपथ मात्रै सरसफाइ गरेर पुग्दैन भन्दै उहाँले राजनीतिक सफाइ हुनुपर्नेमा जोड दिनुभयो। नगरपालिका तथा महानगरपालिकाको साथ सहयोग भए अझ सफाइ अभियानले सफलता पाउने उहाँको भनाइ थियो।

त्यसै गरी अभियन्ता कुँवरले आफूले बाँचुन्जेसम्म यो अभियानलाई निरन्तरता दिने बताउनुभयो भयो। उहाँले आफ्नो व्यक्तिगत खर्चमा नै सफाइ अभियान चलाएको बताउनुभयो। त्यसै गरी गायिका तृप्ति खड्काले गीतमार्फत फोहोर फाल्नेलाई खबरदारी गर्दै पुलिसलाई भनिदिने र कारबाही गर्ने चेतावनी दिनुभयो। चक्रपथ सफाइ अभियानका सल्लाहकार तथा पूर्वमन्त्री नेपाली कांग्रेका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
गर्दै यस हप्ताको सफाइ अभियान शुरू गरिएको थियो।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेप्सेम्याक, स्थानीय तथा होटल व्यवसायीलगायत सय जनाको टोलीले सीतापाइलादेखि कलंकी स्युचाटारसम्मको चक्रपथको दुवै भागको सफाइ गरिएको थियो।