आफूले अभिभावकत्व ग्रहण गरेको ठिल्लेबारे प्रधानमन्त्री बेखबर

खर्च अभाव र साथीभाइले गिल्ला गर्दा विद्यालय जानै छोडिन्


वीरबहादुर बम, मुगु ।

प्रधानमन्त्री, मन्त्रीहरु एवं सांसदका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरिब र असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गर्ने एक समय फेसन नै चलेको थियो । तर ती अभिभावकत्व ग्रहण गरिएका बालबालिकाको अवस्था अहिले कस्तो छ भन्नेबारे सम्बन्धित सबै बेखबर भएको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुकी ठिल्ले साङमु लामाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । त्यसै गरी उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि छिरिङ छेन्जोङ लामालाई अभिभावकत्व ग्रहण गर्नुभएको थियो । यस्तै पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले अभिभावकत्व गर्नुभएकी छोरी र अन्य मन्त्री सांसदहरुले अभिभावकत्व गरेका बच्चाहरुको अवस्था दयनीय रहेको पाइएको छ । उनीहरुबीच वारि र पारिको बीचमा पुल नै नरहेजस्तै भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाउनुभएको मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा पठाउनुभयो । तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर गिल्ला गरिदिँदा तनावमा परेर ठिल्ले विद्यालय जानै छाडेकी हुन् ।

अभाव र तनावका कारण निकै तीक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुंगिने चिन्तासमेत बढेको छ । यसले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ ।मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोग गाउँपालिका–८ मा रहेकी प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व घोषणा गर्नुभएको छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुलेसाथीभाइबाट हेपिन पुगेकी छन् ।कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गर्नुभएको थियो । तर अहिले २ वर्ष बितिसक्दा पनि पढाइ खर्चलगायत गाँस, बास, कपास प्रतिबद्धता व्यक्त गरेअनुरुप सहयोग नगर्दा पछिल्लो समय लामालाई अध्ययनमा समेत समस्या भएको छ भने विद्यालय जाँदा प्रधामन्त्रीकी छोरी भनेर साथीभाइले जिस्क्याउने गरेका छन् ।

लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । उनको दिमाग तीक्ष्ण भए तापनि पठनपाठनमा आवश्यकता पर्ने स्टेसनरीका सामान कापी, कलम, नहँुदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।यता बुद्ध माध्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुईपटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाट समेत नभएको बुझिएको बताउनुभयो ।घरमा बन्दोबस्त गर्ने घरपरिवार नहुनु र लामाको बुवाको पनि निधन भएको हुँदा यसै समस्यालाई मनन गर्दै प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गर्नुभएको हो । अहिले घरमा बिहान बेलुका के खाऔं, के लाऔं र के राखौं भन्ने चिन्ताले मात्र सताउने गरेको ठिल्लेको परिवारले गुनासो गरेका छन् ।

प्रधानमन्त्रीले अभिभावकत्व गरेको करिब ३ वर्ष पुग्दा दुईपटक मात्र १० हजारका दरले २० हजार नगद र एकपटक लत्ताकपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताउनुभयो ।प्रधानमन्त्रीले आफ्नी नातिनीलाई छोरीसरह मानेर सम्पूर्ण जिम्मेवारी लिएको तर पठनपाठनलगायत अन्य स्रोतमा सहयोग नभएको ठिल्लेका हजुरबुबा छिरिङ क्यामा लामाको गुनासो छ । विद्यालयदेखि गाउँघरसम्म सबैले प्रधानमन्त्रीकी छोरी भनी जिस्क्याउँदा आफ्नी नातिनी अभावबीच थप तनाव परेर विद्यालय जान छोडेको पनि लामाले बताउनुभयो ।