ओलीलाई धूलो चटाउँछौं : नेपाल


काठमाडौं, (नेस)  ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नभएको बताउनुभएको छ । उहाँले ओली प्रवृत्तिसँग हारेर मैदान छाडेर नभाग्ने चेतावनी दिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

एमाले निर्माणमा आफूहरुको रगत, पसिना र बलिदानी रहेको बताउँदै उहाँले ओलीले आफूहरुलाई सोचेजस्तो सजिलो नभएको बताउनुभयो । ‘ओली प्रवृत्तिसँग हारेर मैदान छाडेर हामी भाग्नेवाला छैनौं । पार्टी बनाएर आएका छौं । आन्दोलन उठाएर आएका छौं । फेरि पार्टी बनाउँछौं । आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धूलो चटाउँछौं।’ –उहाँले भन्नुभयो ।आफूहरू नडराउने, नतर्सिने बेग्लै धातुको कम्युनिस्ट भएको भन्दै उहाँले भन्नुभयो– ‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन् । पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं । घाँटी छिनाए पनि हाम्रो शिर ठडिरहन्छ, केपी ओलीलाई चुनौती दिइरहन्छौं ।’

नेपालले एमालेभित्रको विवादलाई नेताहरूबीचको लडाइँका रूपमा मात्र नबुझ्न आग्रहसमेत गर्नुभयो । पार्टीभित्रको विवाद नेता–नेताको ‘दन्तबजान’ नभई केपी प्रवृत्तिविरुद्धको लडाइँ भएको उहाँले बताउनुभयो । ‘स्थायी कमिटी र पोलिटब्युरोमा हामी बलियो छौं । केन्द्रीय कमिटीमा हाम्रो ८७, केपीका ८० छन्।’ –उहाँले दाबी गर्नुभयो ।