राक्सिराङमा आधा दर्जन स्वास्थ्य भवन बन्दै

0
Shares

वाग्मती ।  जनतालाई स्वास्थ्य सेवा सरलरुपमा उपलब्ध गराउनका लागि मकवानपुरको विकट क्षेत्रका रुपमा रहेको राक्सिराङ गाउँपालिकामा चालू आर्थिक वर्षमा आधा दर्जन स्वास्थ्य संस्था एकाइ भवन निर्माण कार्य प्रक्रिया शुरु गरिएको छ ।

सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयको लगानीमा सो भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । प्रतिस्वास्थ्य एकाइ भवनका लागि रु ३८ लाखका दरले रु दुई करोड ३८ लाख विनियोजन गरेसँगै भवन निर्माणको काम शुरु गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

अहिले राक्सिराङका वडा नं १, ३, ४, ७, ८ र ९ मा स्वास्थ्य भवन निर्माण प्रक्रिया अगाडि बढाइएको हो । वडा नं ९ स्थित खैराङमा निर्माण हुने सामुदायिक स्वास्थ्य एकाइ भवनको शिलान्याससमेत गरिएको छ । खैराङमा अङ्किता निर्माण सेवाद्वारा रु ३४ लाखको लागतमा छ कोठे भवन निर्माण शुरु गरिएको छ । असार मसान्तसम्म निर्माण सम्पन्न हुने सो संस्थामा अनमी, एचए र कार्यालय सहायक गरी तीन जनाको दरबन्दी रहेको बताइएको छ ।

पछिल्लो समयमा गाउँपालिकामा स्वास्थ्य सेवा पहुँच विस्तार हुँदै गएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । हाल चार स्वास्थ्यचौकीका सुविधा सम्पन्न भवनसमेत निर्माण भइरहेका उहाँले बताउनुभयो । स्वास्थ्य एकाइ भवनको निर्माण र स्थापनापश्चात् सो गाउँपालिकामा एउटा अस्पतालसहित १० स्वास्थ्य एकाइ हुने बताइएको छ । अस्पतालमा केही महीना अगाडि चिकित्सकसहितको सेवा उपलब्ध गराइएको अध्यक्ष मल्लको भनाइ छ ।