नामावली संकलन पुनः सञ्चालन


काठमाडौं, (नेस) ।

सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुनः सञ्चालन भएको छ।
निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो। निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो। मतदाता नामावली ऐन, २०७३ मा भएको निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने प्रावधान रहेको छ। तर सर्वोच्च अदालतले गत फागुन ११ गते संसद् विघटन बदर गरिदिएको झन्डै एक महिनापछि निर्वाचन आयोगले मतदाता नामावली संकलन खुला गरेको हो।

निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन्। १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन्।सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा ६ लाख ६९ हजार ४ सय ९०, काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ जना र झापामा ६ लाख ९ हजार ३ सय ७४ जना रहेका छन्। सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ।