छैटौं भेला गर्नेलाई कारबाही गर्छौं: प्रधानमन्त्री ओली


काठमाडौं,(नेस) । 

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नाममा कुनै पनि गुटगत भेला नगर्न चेतावनी दिनुभएको छ। नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले गुटगत भेला नगर्न चेतावनी दिनुभएको हो।
पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन निर्देशन दिनुभयो। पार्टी २०७३ जेठ ३ गतेभन्दा अगाडिको स्थितिमा फर्केपछि केही साथीहरू छुट्टै भेला बैठक गरेर निहँु खोजिरहेको बताउँदै उहाँले एउटै पार्टीभित्र अराजकता, अनुशासनहीनता, पार्टीको विधि विधानविपरीत काम र एकताविरोधी क्रियाकलाप गर्न छुट नभएको बताउनुभयो।
‘पार्टीलाई पार्टीका रूपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने, यो हुन सक्दैन, पार्टीमा हामी सबैले आआफ्ना हिसाबले एकताबद्ध, विचारमा केन्द्रित भएर काम गर्नुपर्दछ।’ –ओलीले भन्नुभयो।
 उहाँले नेपाल समूहका नेताहरूलाई प्रश्न गर्दै भन्नुभयो– ‘पार्टी अध्यक्षको निमन्त्रणामा चियापानमा नजाने पार्टीका साथीहरू कसको निमन्त्रणमा जानुहुन्छ त?’
सभामुख अग्नि सापकोटाप्रति असन्तुष्टि जनाउँदै उहाँले संसद्लाई स्वार्थको खिचातानीको थलो बनाइएको आरोप लगाउनुभयो। 

‘संसद् दलीय र गुटगतको थलो होइन, देश र जनताको हित तथा विकासको काम गर्ने थलो बनाउनुपर्छ।’ –उहाँले भन्नुभयो।नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कम्युनिस्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र प्रभावकारीरूपमा अगाडि बढाइने बताउनुुभएको छ।