डडेल्धुरामा सडक दुर्घटनामा वृद्धि, चालकको लापरवाही र सडक मुख्य कारक

0
Shares

राम धामी, डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशको भौगोलिक केन्द्र मानिने डडेल्धुरा जिल्लामा पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भएको छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला जोडने प्रमुख भौगोलिक केन्द्र डडेल्धुरामा सवारी साधनको संख्यामा भएको वृद्धिका साथै सडकको अवस्था बिग्रदै गएकाले सडक दुर्घटनामा वृद्धि भएको हो ।

डडेल्धुरामा चालु आर्थिक वर्षको आठ महिनामै २० वटा सवारी साधन दुर्घटनामा परेका छन । आर्थिक वर्ष २०७५/०७६ मा १६ वटा सवारी साधन दुर्घटना परेका थिए । जसमा ३५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा २३ वटा यातायातका सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराको तथ्यांकमा उल्लेख छ ।  आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा चार जनाको सडक दुर्घटनामा परि मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । चालु आर्थिक वर्षमा आठ महिनाको अवधीमा सडक दुर्घटनामा वृद्धि भए पनि सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा गत वर्षको तुलनामा कमि देखिएको छ ।

साना सडक दुर्घटनाका कारण सवारी दुर्घटनाको संख्यामा बढी देखिएको भए पनि ठुला सडक दुर्घटनामा भने पछिल्लो समय कमि आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले, डडेल्धुराका प्रमुख देवबहादुर खत्रीले बताउनु भयो । उँहाले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन चालकलाई कारवाही गरिन थालेपछि पछिल्लो समय ट्राफिक नियम उल्लङ्घनका घटनामा पनि कमि आएको जानकारी दिनुभयो ।

आम नागरिकमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम कार्यान्वन भइरहेकोले जनचेतना वृद्र्धी भए पनि कानुन कार्यन्वयन फितलो भएका कारण सर्वसाधारणमा मनपरि गर्ने प्रबृति बढ्दै गएपछि सवारी दुर्घटना बढ्दै जाने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताउनु भयो । सवारी साधन दुर्घटना बढ्नुको मुख्य कारण जिर्ण सडक र तिब्र गतिमा सवारी साधन चलाउने प्रवृती भएको उँहाको ठहर छ ।

अव्यवस्थित सडक, चालकको चरम लापरवाही, तीव्रगति, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृतीका कारण डडेल्धुरामा सवारी साधन दुर्घटनाका मुख्य कारण मानिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले, डडेल्धुराले जनाएको छ । राम्रोसँग ड्राईभिङ तालिम नलिएको, भनसुन तथा घुसखोरीको आधारमा लाइसेन्स उपलब्ध हुनु, चालक गफमा भुल्नु जस्ता कारण दुर्घटना हुने गरेको प्रहरी अधिकारीहरु बताउछन । सवारी दुर्घटना बढ्दै गएकाले पछिल्लो अवस्थामा झन चुनौतीको विषय बनेको हुँदा सवारी दुर्घटना कम गर्न सडकको अवस्था सुधारदेखि चालक अनुमती पत्र वितरणमा समेत ध्यान दिनुपर्ने ट्राफिक जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले, डडेल्धुराका प्रमुख खत्रीले बताउनु भयो ।