इतिहासशिरोमणि बाबुराम आचार्यको स्मरण


नेपाल समाचारपत्र, काठमाडौं

इतिहासशिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ । आचार्यको १३४औं जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचारगोष्ठीका वक्ताले राष्ट्रका विभूतिका रुपमा रहेका इतिहासकार आचार्यको योगदान तथा उहाँका सिर्जनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नका लागि सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिकशास्त्र विभाग र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले इतिहासशिरोमणि आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरकालसम्म सम्झने गरी पुरस्कारलगायत विविध विषयबाट सम्बोधन गर्न मन्त्रालयले नीतिगत कार्यक्रम ल्याउने बताउनुभयो ।

आचार्य भौतिकरुपमा नरहे पनि उहाँका इतिहाससम्बन्धी कालजयी कृतिले सदैव जीवितरुपमा स्मरण गराइरहेको उल्लेख गर्दै सचिव कोइरालाले इतिहासमा योगदान दिने व्यक्तिलाई नै इतिहासले सम्झने हो भन्नुभयो । उहाँले आचार्यजस्ता इतिहास, साहित्यका सर्जकको संरक्षण गरी अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । कोइरालाले भन्नुभयो– ‘सगरमाथाको नामकरण गर्ने आचार्यको जीवन संघर्षपूर्ण हुँदाहुँदै उहाँले दिएको ज्ञान सदा चीरस्मरण हुन्छ, राज्यले दिएको महत्वपूर्ण विधाको पद हो शिरोमणि । त्यसैले आचार्य त्यस्तो व्यक्तित्व हुनुहुन्छ जसको मृत्युपश्चात् पनि उहाँको योगदानको उचित कदर र स्मरण हुने गरेको छ ।’

उहाँले इतिहासविद् आचार्यजस्ता विभूतिलाई कसरी राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने भनेर नीति आवश्यक रहेको र मन्त्रालय त्यसदिशातर्फ अघि बढेको जानकारी दिँदै भूगोल र इतिहासलाई जोडेर प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइने वचन दिनुभयो । इतिहासशिरोमणि आचार्य तिनै व्यक्ति हुनुहुन्छ जसले सर्वोच्च शिखर सगरमाथाको नामकरण गर्नुभएको थियो । नेपाली साहित्यको इतिहास विधामा आचार्यको अतुलनीय योगदान छ । आचार्यको स्वदेश तथा विदेशमा पनि उत्तिकै चर्चा हुन्छ । सचिव कोइरालाले साहित्य, इतिहासको योगदानलाई संरक्षणका लागि राज्यले विशेष ध्यान दिने पनि बताउनुभयो । उहाँले आचार्यको योगदानको कदरस्वरुप उहाँको स्मरणलाई जीवन्त तुल्याउन पुरस्कार स्थापनाका साथै अन्य किसिमका कार्यक्रम पनि अघि बढाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

मन्त्रालयले पुरस्कारका लागि १० लाख बजेट विनियोजन गरेको र तीन विधामा दिइने उक्त पुरस्कार यसै वर्ष प्रदान गर्नका लागि आवश्यक कार्यविधि बनाइने जानकारी दिनुभयो ।प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले कार्यक्रमको विषय प्रवेश गर्दै नेपालको इतिहासलाई प्रामाणिक बनाउन भूमिकाखेल्नुभएका आचार्यले नेपाली साहित्यको समालोचनालाई माथि पु¥याउन पनि विशिष्ट योगदान गर्नुभएको बताउनुभयो ।पर्वराजदूत एवम् स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर आचार्यले इतिहासशिरोमणि आचार्यलगायतका स्रष्टाका संक्षिप्त पहिचान झल्कने गरी नेपालका पर्यटकीय गन्तव्यमा प्रवद्र्धन गरिनुपर्ने तथा आचार्यका बारेमा थप खोज तथा अनुसन्धान गरी युवापुस्तामा ज्ञान हस्तान्तरण हुनुपर्ने धारणा राख्नुभयो ।

बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इतिहासशिरोमणि आचार्यको युगान्तकारी स्मरणका लागि विशेष पुरस्कार स्थापना गर्ने कुराले इतिहासशिरोमणि स्मृति प्रतिष्ठान हर्षित र गौरवान्वित भएको बताउनुभयो ।इतिहासको आलोकमा बाबुराम आचार्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्राडा सुरेन्द्र केसीले विलक्षण प्रतिभाका धनी इतिहास शिरोमणि आचार्यको योगदानलाई चीरस्मरण बनाउन राज्यले ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले आचार्यका हरेक कृतिले ज्ञानका पारखीलाई दिशाबोध गर्नुका साथै अध्ययनमा प्रोत्साहन गर्ने बताउनुभयो ।