काठमाडौं, (नेस)
नेपाली कांग्रेसमा वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उप–सभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने महिलाहरूले माग गरेका छन् ।
पार्टीको केन्द्रीय महिला विभागद्वारा दुई दिनसम्म सञ्चालित बागमती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो निर्णय भएको जारी घोषणा–पत्रमा उल्लेख छ । पाँचबुँदे घोषणापत्रमा पार्टी वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाइ महिला पदाधिकारी अनिवार्य हुनुपर्ने माग गरेको उल्लेख छ ।
‘सहानुभूतिको ठाउँमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाउँमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भेलाबाट निर्णय गर्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ।’ –घोषणापत्रमा उल्लेख छ ।
बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरूमा संलग्न अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउन नसक्नुले यस्ता अपराधीहरू राज्यबाट नै संरक्षित भएको स्पष्ट भएको घोषणापत्रमा जनाइएको छ ।
दण्डहीनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानुनको कठोर कार्यान्वयनका लागि भेलाले माग गरेको छ । यस्तै बालिकाहरूलाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितताका लागि पनि भेलाले माग गरेको छ ।महिलाको प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिए तापनि पूर्णरुपले कार्यान्वयन हुन नसकेको औंल्याउँदै भेलाले बर्थिङ सेन्टरहरूलाई व्यवस्थित गरी मातृशिशु मृत्युदर कम गर्न माग गरिएको विभागकी सचिव लक्ष्मी खतिवडाले जानकारी दिनुभयो । भेला पार्टी कार्यालय सानेपामा शनिबार र आइतबार चलेको थियो ।











प्रतिक्रिया