पश्चिम नेपाल बस व्यवसायीको नयाँ नेतृत्व


बुटवल, (नेस) ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।शनिबार राति सम्पन्न प्रालिको प्रथम अधिवेशनबाट एमाले–माओवादी वाम गठबनधन र कांग्रेस निकटको प्रजातन्त्रवादी दुवै प्यानलका सदस्यहरू निर्वाचित भएका हुन् ।११ सदस्यीय सञ्चालक समितिको लागि भएको निर्वाचनमा एमाले–माओवादी गठबन्धनका ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जना निर्वाचित भएका हुन् । एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरु दधिराम खरेलको नेतृत्वमा र नेपाली कांग्रेस निकटका व्यवसायीहरु पदम गाहाको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

माओवादी केन्द्र निकट खरेल प्रालिका निवर्तमान अध्यक्ष र कांग्रेस निकट गाहा प्रबन्ध सञ्चालक हुनुहुन्थ्यो ।खरेल प्यानलबाट खरेलले १३३८ मत, जीवनकुमार बञ्जाडेले १५३० मत, रामचन्द्र भुसालले १३८६ मत, मोहन पीएसले १४८४ मत, चेतनारायण बेलवासेले १३५७ मत, नारायणप्रसाद घिमिरेले ११४६ मत, गोपाल पौडेल १२९० मत र कृष्णप्रसाद सापकोटा ११४९ मतसहित विजयी हुनु भएका छ ।यस्तै पदम गाहाको प्यानलबाट गाहाले १३८९ मत, कृष्णप्रसाद पाण्डेले १११७ मत र सुरेन्द्र श्रेष्ठले १४२२ मतसहित विजयी भएका निर्वाचन अधिकृत यानेन्द्र जीसीले जानकारी दिनुभयो ।नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सर्वोच्च अदालतले खारेज गरेसँगै देशभर एमाले र माओवादी केन्द्रका अलग अलग पार्टी कार्यालय सञ्चालन भइरहेका बेला बस व्यवसायीको चुनावमा भने एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको हो ।

निर्वाचनमा एमाले माअ‍ेवादी केन्द्रको बाम गठबन्धनका आठ जनाले जिते पनि बाम गठबन्धनको नेतृत्व गरेका निवर्तमान अध्यक्ष समेत रहेका माओवादी केन्द्र निकट व्यवसायी खरेलले एमाले निकट व्यवसायी र कांग्रेस निकट व्यवसायी भन्दा कम मत आउनुले बामगठबन्धन भित्रैबाट अन्तर्घात भएको प्रष्टै देखिन्छ ।बाम गठबन्धनका एमाले निकट जीवन बन्जाडेले १५३० मत ल्याउँदा बाम गठबन्धनकै माओवादी केन्द्र निकट दधिराम खरेलले १३३८ मत मात्रै प्राप्त गर्नु र कांग्रेस निकट व्यवसायी सुरेन्द्र श्रेष्ठले १४२२ तथा पदम गाहाले १३८९ मत ल्याएर विजयी हुनुले अन्तर्घातलाई पुष्टि गरेको छ ।२ हजार ३ सय ९६ मतदाता रहेको संघको चुनावमा २ हजार ८६ मत खसेको थियो ।अधिवेशनबाट निर्वाचित ११ जना सञ्चालकबाट अध्यक्ष चुनिने व्यवस्था छ । हाल निर्वाचित सञ्चालक समितिबाट प्रालिको अध्यक्ष र प्रवन्ध संचालक चयन हुनेछ ।