स्वर्ण जलहरीका साथ महाशिबरात्री


कोरोनाको कहर अझै पूर्णतः समाप्त भई नसकेको भएता पनि हिन्दुहरूको महान पर्व महाशिवरात्री यसपटक पनि विगतका वर्षहरूमा झैं धुमधामका साथ सम्पन्न भयो । पशुपतिनाथको दर्शन गर्न भक्तजनहरूको उत्साहमा कुनै कमी आएन । तर, यो उत्साह पशुपतिमा सुनको जलहरीले ल्याएको नभई देवादिदेव शिवप्रतिको आस्थाले नै हो भन्न कुनै आनाकानी गर्नुपर्ने देखिन्न ।

सामान्यतः धर्म नमान्ने भनेर चिनिएका कम्युनिष्ट पार्टी, तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते सोमबार अचानक पशुपतिनाथमा पुगी विशेष पूजा गर्नुका साथै सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको थियो । सत्ता धरापमा परेको बेला कम्युनिष्ट पार्टीका अध्यक्षले यसरी पशुपतिनाथ पुगेर पूजा गर्नुलाई हिन्दु धर्ममा आस्था राख्ने ठूलो जमातको सहानुभूति आफूतिर तान्ने प्रपञ्च गरेको भनेर विपक्षीहरूबाट आलोचना पनि सहनुप¥यो । त्यतिमात्रै होइन, यस कार्यलाई हिन्दु धर्मका कट्टर अनुयायी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन प्राप्त गर्ने खेलको रुपमा पनि व्याख्या गरियो । पशुपति दर्शनको दुई दिनपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा पशुपति विकास कोषले मुख्य शिवलिङ्गमा सुनको जलहरी राख्ने निर्णय ग¥यो । यसरी जलहरी राखिनु प्राचीन स्मारक संंरक्षण ऐन, २०१३ विपरीत भएको भन्दै निर्णयविरुद्ध प्रदेश सभासद् नरोत्तम वैद्यले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभयो । तर उक्त निवेदन दर्ता भएको भोलिपल्टै अर्थात प्रधानमन्त्रीको पशुपति दर्शनको ठ्याक्कै महिना दिनमा सुनको जलहरी राख्ने काम भयो ।

सर्वोच्चले फागुन १२ गते रिट निवेदनमाथि सुनुवाई गर्दै तत्काललाई जलहरी राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा फागुन १७ गते दुवै पक्षबीच छलफल गराउने र छलफलको टुंगो नलागेसम्म पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु–नगराउनु भनी लेखिएको थियो । तर सर्वोच्चले आदेश जारी गरेको अघिल्लो रात नै जलहरी लगाउने काम सम्पन्न गरियो । बुधबार सर्वोच्चको आदेश आएको थियो तर मंगलबार राति नै जलहरी हाल्ने काम सकेर राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा पूजा गर्नुभएको बताइयो । यद्यपि रिट निवेदक वैद्यले भने त्यतिबेला आफू मन्दिर परिसरमै रहेको र सुनको जलहरी त्यस बेलासम्म नहालिएको दाबी गर्नुभएको छ ।

तर आम नागरिकले कसको कुरा मान्ने, पशुपति विकास कोषको वा प्रत्यक्षदर्शी वैद्यको ?प्राचीन स्मारक संरक्षण ऐन, पुरातात्विक महत्व वा धार्मिक आस्था जे कारणले भएपनि शिवलिङ्गमा सुनको जलहरी राख्नु ठीक हो वा होइन, त्यो बहसको विषय हुनसक्छ । तर हरेक वर्ष राष्ट्रिय पर्वकै रुपमा महाशिवरात्री मनाउने देशले शिवको नाममा राजनीति गर्नु चाहिं उदेकलाग्दो विषय हो । शिव जसलाई न त कुनै भौतिक सुख–सयलको वास्ता छ, न कुनै वस्त्र आभूषणमा नै रमाउने चरित्रका भएको पुराणले बताउँछ, उनलाई सुनको जलहरी किन चाहियो ! अरुको हितको लागि विषपान गर्ने र सांसारिक मोहजालबाट पर रहने शिवबाट नागरिकको हितको लागि आफ्नो सुखसयलको समेत पर्वाह गर्न नहुने शिक्षा लिनुको साटो सर्वोच्च अदालतको आदेश र जनचाहनालाई समेत लत्याउँदै राजनीतिक स्वार्थ सिद्धगर्नु सर्वथा अपाच्य छ ।