शिव पार्वतीको रथ यात्रा विसर्जन

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

शिव पार्वतीको रथ यात्रा चाँगुनारायण नगरपालिका वडा नं. ८ कलमसी कल्पेश्वर महादेव तथा कालिका मन्दिर धाममा आज विसर्जन गरिएको छ । ललितपुरको बालकुमारीबाट शुरु भएको रथ यात्रा चाँगुनारायण ८ कलमसी १०८ फिट अग्लो महामदेव मन्दिर निर्माण स्थलमा विर्सजन गरिएको हो । हरेक वर्ष शिवरात्रीको पूर्वसन्ध्यामा पशुपती मन्दिरमा गरिदै आएको शिव पार्वती रथ यात्रा यस वर्ष १०८ फिट अग्लो महादेव मन्दिर निर्माण कार्यलाई अगाडी बढाउन सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ कलमसीमा आयोजना गरिएको हो ।

मन्दिर निर्माणका लागि चाँगुनारायण नगरपालिकाले १० रोपनी सार्वजनीक जग्गाको अनुमति दिएको छ । मन्दिरको गुरु योजना निर्माण अन्तिम चरणमा रहेको र त्यो सम्पन्न हुने वित्तिकै सम्बन्धित निकायको अनुमतिमा निर्माण कार्य अगाडि बढाइने छ । कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजका अध्यक्ष शिव तान्त्रिक बुद्धिकुमार गुरुज्यूले सहयोग मन्दिर निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराइरहनुभएको छ ।

शिव तान्त्रिक गुरु बुद्धि कुमार गुरु ज्यूको सभापतित्वमा भएको विसर्जन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्णलाल भँडेलको प्रमुख आतिथ्यता रहेको थियो । पशुपती विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा, चाँगुनारायण नगरपालिका वडा नंं.८ का वडा अध्यक्ष परासर सापकोटा, समाजसेवी रविन्द्र प्रताप शाह लगायतका समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

स्थानीयवासीको अगुवाईमा सरकारी तथा अन्य व्यक्तिगत तथा संस्थागत सहयोगबाट १०८ फिट अग्लो विराजमान महादेवको मन्दिर निर्माणका लागि पहल भइरहेको छ । समाजसेवी शाहले समुदायको चाहना अनुसार निर्माण हुन लागेको मन्दिरलाई आफ्नो साथ र सहयोग रहने बताउनुभयो ।

निर्माणका लागि स्थानीय तहको तर्फबाट जग्गा व्यवस्थापन, मन्दिर निर्माण र संरक्षणमा सहयोग रहने चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष परासर सापकोटाले बताउनुभयो । धार्मिक पर्यटनको महत्व बढदै गएकाले अव स्थानीय स्तरमा रहेका कला, सस्ँकृति र मठ मन्दिरको विकासमा सहयोग पुर्याउनुपर्ने प्रदेश सभा सदस्य कृष्णलाल भँडेलले बताउनुभयो । आफूले प्रदेश क्षेत्र भित्रका महत्वका विषयहरुमा सक्दो सहयोग गर्ने साँसद भँडेलले बताउनुभयो ।