प्रतिनिधि सभा बैठक अघि सभामुखसँग प्रचण्ड-नेपालको भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्नि सापकोटासँग आइतबार भेटवार्ता गरेका छन् ।

सभामुख सापकोटालाई भेट्न प्रचण्ड–नेपाल संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा पुगेको हुन् । उनीहरुबीच करिब आधा घण्टा छलफल चलेको थियो । छलफलमा के कुरा भयो भन्नेबारे भने जानकारी दिइएको छैन । संसद पुनःस्थापनापछि आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ ।

अपराह्न ४ बजे बस्ने भनिएको बैठकअघि प्रचण्ड–नेपाल र सभामुखबीच भएको भेठवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यससँगै, आज प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको समेत हल्ला चलेको छ ।

आजको बैठकमा प्रचण्ड-नेपाल समूह र ओली समूह एकआपसमा भिड्ने मनस्थितीमा रहेपछि संसद भवनको सुरक्षा कडा बनाइएको छ । दुवै समूह सत्तापक्षकै बेन्चमा बस्ने भएपछि अवस्था जे पनि हुन सक्ने आकलन गर्दै संसद सचिवालयले सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताएको छ ।