स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

0
Shares

न्युज अफ नेपाल, कास्की ।

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल, कास्कीको संयोजनमा आज पोखरामा आयोजित नागरिक समाज तथा सामाजिक संघसंस्था र स्थानीय सरकारबीच समन्वय र सहकार्य विषयक संवाद कार्यक्रममा स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य भएकोमा जोड दिइएको छ ।

लुम्बिनी विकास नागरिक सरोकार मञ्च(एलडीसिएफ), लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल९डेकोन० तथा सुशासन तथा विकास प्रतिष्ठान९आईजीडी०को सहकार्यमा आयोजित कार्यक्रममा संविधानले स्थानीय तहलाई राज्यको शासकीय अधिकार प्रयोग गर्ने हैसियत दिइसकेको बताउँदै वक्ताहरूले स्थानीय सरकार र नागरिक समाज एक अर्काबीच समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

सुशासन तथा विकास प्रतिष्ठान नेपालका निर्देशक डा।मुक्ति रिजालले संविधानतः प्राप्त अधिकारको उपयोगका सन्दर्भमा स्थानीय सरकारलाई जनउत्तरदायी बनाउन नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

सुशासन तथा विकास प्रतिष्ठानका बरिष्ठ कार्यक्रम अधिकृत महेन्द्र लम्सालले स्थानीय सरकार र नागरिक समाजबीच राम्रो सहकार्य भएमा स्थानीय रुपमा हुने विकास निर्माण लगायतका हरेक कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो ।

ʿस्थानीय सरकार र नागरिक समाजको सहकार्यʾ विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता एवम् सामुदायिक मेलमिलापकर्ता समाज, कास्कीका अध्यक्ष हरिप्रसाद पण्डितले स्थानीय सरकार र नागरिक समाजबीचको समन्वय र सहकार्यले नै समाजमा विकासले गति लिने बताउनुभयो ।

कुनै पनि समस्याको समाधान गर्न नागरिक समाजले खबरदारी गर्ने उल्लेख गर्दै उहाँले स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्यबाट स्थानीय स्रोत व्यवस्थापन र परिचालन गर्न सरल र सहज परिस्थिति निर्माण हुने बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता हरि भट्टराई, शान्तिका लागि नागरिक समाज कास्कीका संयोजक विष्णुप्रसाद बराल, नागरिक समाजका रामबहादुर पौडेल, पोखरा महानगर न्यायिक समितिका सदस्य किशोर बराल लगायतले सकारात्मक सोचको विकास गर्दै स्थानीय सरकार र नागरिक समाजबीच सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।