कोभिड-१९ रोकथाम तथा न्युनीकरण सम्बन्धि सरोकारवालाबीच अन्तक्रिया

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार कोभिड–१९ रोकथाम तथा न्युनीकरणका विषयमा सरोकारवालाबीच अन्तक्रिया सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालासँग अन्तक्रिया र छलफल गरिएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले कोभिड–१९ मुख्य गरी श्वासप्रश्वासको माध्यमबाट सर्ने बताउँदै यसबाट बच्न भौतिक दुरी कायम गर्नुपर्ने, माक्स लगाउनुपर्ने र साबुनपानीले हात धुनुपर्ने बताए । उनले स्वास्थ्य सुरक्षाका विभिन्न उपायहरु अपनाउनुका साथै कोभिड–१९ को संक्रमणबाट बच्न सबैभन्दा सुरक्षित रहन खोप लगाउनुपर्ने बताएका छन् ।

नेपालमा हालसम्म ५ लाख नागरिकले कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाइसकेका छन्भने म्याग्दी जिल्लामा पहिलो चरणमा २५ सय ४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । खोप लगाएकाहरुमा अहिलेसम्म सामान्य साइड इफेक्टबाहेक अन्य समस्या नदेखिएको निमित्त प्रमुख लम्सालले जानकारी दिए । खोपको पहिलो मात्रा लिएर गम्भीर एलर्जी भएका, औषधीजन्य समस्या देखिएका, गर्भवती महिला, गम्भीर प्रकृतिका बिरामी र कोभिडका बिरामीले खोप लगाउन नहुने जनाइएको छ ।

अब दोस्रो चरणको खोप अभियानका लागि म्याग्दीमा ६५ वर्षभन्दा माथिको उमेर समूहलाई ५ हजार खोप उपलब्ध रहेको निमित्त प्रमुख लम्सालले बताए । कार्यक्रममा नगर उपप्रमुख सन्जु बरुवालले कोभिडविरुद्ध खोप लगाएपछि केही ढुक्कको महसुस गरिएको बताउँदै खोप अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताइन् । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वास्थ्य संयोजक लिला गौतमले सञ्चालन गरेकी थिइन् ।